लमजुङ – लमजुङ सदरमुकामको बेसीशहरमा गएराती हार्डवेयर पसलमा आगलागी भएको छ ।
बेसीशहर नगरपालिकाको दनैफाँटमा रहेको गंगाबहादुर थापाले सञ्चालन गर्दै आएको बेसीशहर हार्डवेयरमा आगलागी हुँदा पसलका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । आगलागीबाट झण्डै १ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ ।
आइतबार १० बजे अचान आगलागी भएको लमजुङ प्रहरीले जनाएको छ । आगलागी संगै हार्डवेयर पसलसंगै जोडिएका अन्य घरका छिमेकीले हारगुहार गरेका थिए । आगो स्थानिय, प्रहरी र दमकलको सहयताले नियन्त्रणमा लिइएको थियो ।
आगलागी हुँदै गर्दा पसलभित्रै राखिएको एउटा कार भने स्थानीयले धकेलेर सडकमा ल्याएका थिए । कारलाई भने कुनै पनि क्षति नभएको स्थानियले बताए । सटरको चापी फोडेर कार निकालिएको थियो ।
आगलागीमा परी पसलभित्र रहेका ग्यासको सिलिण्डर ठूलो आवाज सहित विष्फोट भएको प्रहरीले जनाएको छ । आगलागीले पसलमा रहेको सबै सामान नष्ट भएको सञ्चालक थापाले बताए ।
आगालागी नियन्त्रणको क्रममा एकजना घाइते भएका छन् । आगलागीबाट तातेको सटरले च्यापिएर बेसीशहरमा मजदुरी गर्ने बारा देउताल ४ का ३५ बर्षीय राजेश्वर पासवान घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भई रहेको छ ।
लमजुङ्गबाट मिलन शर्मा दनैकाे सहयाेगमा


