काठमाण्डौँ – नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीबाट निर्वाचित ४ जना प्रतिनिधिसभाका सदस्यलाई कारबाही गरेको छ ।
माओवादी केन्द्रले उनीहरुलाई एमाले प्रवेशबारे स्पष्टीकरण सोधिएकाेमा प्रभु साह बाहेक अरुले जवाफ नदिएको र जवाफ दिने प्रभुको पनि स्पष्टीकरण चित्तबुझ्दो नभएकाले कारबाही गरिएको माओबादी केन्द्रले जनाएकाे हाे ।
संसद सचिवालयले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट प्रतिनिधिसभामा निर्वाचित चार जना सांसदहरु उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र श्रम रोजगार तथा सामाजिक मन्त्री गौरीशंकर चौधरी एमाले प्रवेश गरेकाले उनीहरुमाथि कारबाही गर्न माओवादीले पठाएको पत्र दर्ता भएको जानकारी दिएको छ ।
यस्तै पार्टीको निर्णयअनुसार उनीहरु मन्त्रीबाट फिर्ता हुन समेत नमानी पार्टी निर्णय उलंघन गरेको पत्रमा उल्लेख गरिएको छ । प्रचण्डको निर्णयपछि संसद सचिवालयमा मंगलबार दर्ता गरिएको पत्रमा हाल मन्त्री रहेका चारै सांसदलाई दल त्यागबारेको जानकारी सदनमा पेश गर्न अनुरोध गरिएको छ ।
एमाले प्रवेश गरेका नेता रामबहादुर थापा बादललाई पनि मंगलबार नै कारबाही गरेको पत्र संसद सचिवालयमा पठाउने माओवादी केन्द्रको तयारी छ ।
सर्वोच्च अदालतको फैसलाले नेकपा माओवादी केन्द्र ब्युँतिएपनि हाल मन्त्री रहेका बादल, रायमाझी, भट्ट, साह र चौधरीले माओवादीमा नफर्कने बताएका थिए ।




















