काठमाण्डौं – नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ ।
मस्तिष्कघात भएपछि नर्भिक अस्पतालको अति सघन कक्षमा उपचाररत जोशीको शुक्रबार राति ८ः२४ बजे मृत्यु भएको नर्भिक अस्पतालले पुष्ट गरेको हो ।
शालीन तथा भद्र ब्यक्तित्वका धनि मानिने ५७ वर्षीय जोशी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उद्योग मन्त्री समेत रहेका थिए । जोशीको जन्म वि.सं. २०२० साल पुस २४ मा भएको थियो । उनको गत फागुन १४ गतेदेखि नर्भिक अस्पतालमा उपचार भई रहेको थियो ।
२०३६ सालको विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतिमा उदाएका जोशी २२ वर्षको उमेरमै नेपाल विद्यार्थी संघको महामन्त्री बनेका थिए । २०४९ सालको स्थानीय निर्वाचनमा कांग्रेसका तर्फबाट काठमाण्डौं महानगरपालिकाको उप मेयरमा निर्वाचित भएका जोशी प्रचण्ड नेतृत्वको माओवादी–कांग्रेस गठबन्धन सरकारमा उद्योग मन्त्री बनेका थिए ।
गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत रहेका जोशीका श्रीमती र छोरी छन् ।


