एजेन्सी – भारतले उत्पादन गर्दै आएको अक्सफोर्ड–एस्ट्राजेनेका खोपको निर्यातमा अस्थायी रोक लगाएको छ । खोप माथि रोक लगाए संगै १९० राष्ट्र प्रभावित भएको छ ।
भारतमा नै केही दिन देखी कोरोनाभाइरस सङ्क्रमितको संख्या बढिरहेकाले खोप आन्तरिक रुपमा नै खपत हुन सक्ने भन्दै अस्थायी रुपमा निर्यातमा रोग लगाएको भारत सरकारले जनाएको हो ।
बुधवार मात्रै भारतमा ४७ हजार भन्दा बढी नयाँ कोरोना भाइरस संक्रमितहरुको संख्या थपिएका छन् भने २७५ जनाको मृत्यु भएको थियो ।
भारतले अप्रिल १ तारिख अर्थात चैत्र १६ गतेबाट ४५ वर्षमाथिकालाई खोप कार्यक्रम सुरु गर्दै छ । यसै कारण पनि भारतले अस्थायी रुपमा निर्यातमा रोक लगाएको हो । यो कदमले अप्रिलको अन्त्यसम्म खोप आपूर्तिमा असर गर्ने अनुमान गरिएको छ ।
भारतको सबैभन्दा ठूलो खोप निर्माता सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गर्दै आएको एस्ट्राजेनेका खोप नपठाउदा बेलायत र ब्राजिललाई प्रत्यक्ष असर परेको छ ।
भारतले अहिलेसम्म ७६ देशमा ६ करोड भन्दा बढी खोप निर्यात गरिसकेको छ । भारतले ७ महिनाभित्र ६० करोड भारतीय जनतालाई खोप लगाउने लक्ष्य राखेको छ ।




















