काठमाण्डौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीका कारण पार्टी छिन्न भिन्न भएको आरोप लगाएका छन् ।
बुधबार आफुपक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले अध्यक्ष ओलीको दम्भका कारण एकताको ढोका बन्द भइसके भन्दै अहिले देखिएको समस्याको मूल कारण ओली भएको आरोप लगाएका हुन् ।
पछिल्लोपटक आफु र ओलीपक्षसँग भएको छलफलमा पनि ओलीको दम्भ नहटेको भन्दै अहंकार र व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहनाले पार्टीमा समस्या भएको नेपालले बताए । कार्यक्रममा बोल्दै ओलीकै कारण एमाले र माओवादी केन्द्रबीचको एकता भाँडिएको नेता नेपालले ओलीलाई आरोप लगाए ।
ओलीले आलोचना र सुझाव नसुन्ने, पार्टी एकतालाई स्वार्थ सिद्धिको साधन बनाएको भन्दै नेता नेपालले ‘जबजको नारा लगाएर निरंकुश प्रवृत्ति देखाउने अनि आफ्नो गल्तीको भारी सधैंभरी अरुलाई थोपर्ने काम ओलीबाट भएको बताए ।
ओली सधैं पूर्वाग्रही रहेको र असहमतलाई पक्षपातपूर्ण व्यवहार गरेको भन्दै उनले एक अर्का नेतालाई लडाउने, भिडाउने काम गरेको आरोप समेत लगाए ।
भेलामा पार्टी पूर्ववत् अवस्थामा फर्किएपछि ओलीले एकैचोटी १२ औं बैठक बोलाएको भन्दै नेपालले दशौं र एघारौं बैठक कहाँ गए भनेर प्रश्न समेत गरेका थिए ।




















