हेटौडा – मकवानपुरको सुनाचुरीमा रात्रिबस र ट्रक ठक्कर खाई ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा थप १० जना घाइते भएका छन् ।
हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना. ४ ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा आउदै गरेको ना. ६ ख ८९ नम्बरको ट्रक मनहरी ६ मा एक आपसमा ठोक्किँदा बसका चालक सहित ३ जनाको मृत्यु भएको हेटौडा प्रहरीले पुष्टी गरेको छ ।
मृत्यु हुनेमा बस चालक वीरगन्ज १५ का ३५ वर्षीय मदनकुमार थापा, बसमा सवार भारतीय नागरिकहरु अभयलाल कुश्वाह र सुनिल कुमार रहेका छन् ।
बस चालक थापाको र सुनिल कुमारको चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा र कुश्वाहको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घाइतेहरुको हेटौंडा र भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।




















