एजेन्सी – संयुक्त राष्ट्रसंघले रुसी विपक्षी नेता अलेक्सी नाभाल्नीलाई विष सेवन गराइएको विषयमा छानविनको माग गरेको छ ।
राष्ट्रसंघका मानवअधिकार विज्ञहरुले नाभाल्नीमाथि मानव अधिकार हनन् भएको भन्दै घटनाको सत्य तथ्य बाहिर ल्याउनमा सहयोग गर्न अन्तराष्ट्रिय समुदाय संग माग गरेका हुन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक तथा रुसी विपक्षी नेता अलेक्सी नाभाल्नीलाई विष सेवन गराइएको भनी आएका समाचारबारे अन्तर्राष्ट्रिय अनुसन्धान हुनुपर्ने विज्ञको भनाइ छ ।
नाभाल्नीलाई केही दिनअघि मस्कोदेखि करिब २०० किलोमिटर टाढाको जेलमा सारिएको छ । उनलाई करिब ३ वर्षको जेल सजाय गरिएको छ ।
विज्ञहरूले उनलाई जेलबाट बिना शर्त रिहा गर्नुपर्ने माग गरिरहेका छन् । उनलाई पक्राउ गरिएकोमा समेत अन्तर्राष्ट्रिय समुदायले विरोध गर्दै आएका छन् ।
अघिल्लो वर्ष उनलाई साइबेरियामा रुसी एजेन्टहरुले विष प्रयोग गरेर हत्या प्रयास गरेका थिए । बेहोस अवस्थामै उनलाई जर्मनी लगेर उपचार गरिएको थियो । उपचारपछि स्वदेश फर्कने क्रममा उनलाई विमानस्थलबाटै पक्राउ गरिएको थियो ।




















