काठमाण्डौं – मेलम्चीको पानी आज देखी सुरुङमा भर्न शुरु गरिने भएको छ । यसका लागि प्राविधिक काम सम्पूर्ण रुपमा पूरा भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
पानी भर्नु अघि आयोजनास्थल मेलम्चीमा आज औपचारिक कार्यक्रम राखिएको छ । गत असारमा पनि सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो । त्यस क्रममा सुरुङको मुख्य ढोका फुटेर निस्केको पानीले एक इन्जिनियर र चालकलाई बगाएर मृत्यु भएको थियो ।
यसपटक विशेष सतर्कता अपनाइएको छ । परीक्षणका क्रममा हुन सक्ने दुर्घटनालाई मध्यनजर गरी हेलिकप्टर तयारी अवस्थामा राखिएको छ भने धुलिखदेखि काठमाण्डौँस्थित विभिन्न अस्पतालहरुसँग पनि समन्वय गरिएको छ ।
समितिले दिएको जानकारी अनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाण्डौंको सुन्दरीजलसम्मको २६.५ किलोमिटर सुरुङमा पानी भर्न १६ दिन लाग्ने अनुमान गरिएको छ ।
सुरुवाती चरणमा सुरुङको क्षमताअनुसार पानी नछाडिने भएको छ । दैनिक १७ करोड लिटर पानी ल्याउने सुरुङको क्षमता ६ हजार लिटर प्रतिसेकेण्ड रहेको छ ।
मेलम्ची खानेपानी आयोजना पूरा भएमा उपत्यकामा दैनिक १७ करोड लिटर पानी काठमाण्डौं उपत्यकामा आउने छ । उपत्यकामा खानेपानीको माग दैनिक ४१ करोड ५० लाख लिटर रहेको छ ।




















