बिराटनगर – प्रदेश १ को प्रदेश सभा बैठक आज बस्दैछ । दिउसो बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्तावमा छलफल गर्ने कार्यसूची तय भएको छ ।
नेकपाकै दाहाल–नेपाल समूहले दर्ता गराएको मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न नदिने तयारीमा ओली समूह रहेका छन् । अघिल्लो बैठकमा पनि ओली समुहको अवरोधका कारण अविश्वास प्रस्ताव दर्ता हुन सकेको थिएन ।
माघ २५ गतेको बैठकमा ओली समुहका सांसदहरूले विरोध जनाएपछि कार्यसूचीमा प्रवेशै नगरी बैठक स्थगित भएको थियो । माघ ७ गते बोलाएको बैठक ३ मिनेट बसेर स्थगित भएको थियो ।
मुख्यमन्त्री राईले अविश्वास प्रस्ताव जबरजस्ती अघि बढाए प्रदेश सभा भंग गर्ने चेतावनी दिएका छन । नेकपाका दाहाल–नेपाल समुहका ३७ सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि त्यो प्रदेश सभामा पेश हुन सकेको छैन ।
९३ सदस्यीय प्रदेशसभामा नेकपाको दुवै समुह गरि ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ११ जना सांसद छन् ।




















