काठमाण्डौं – प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ ।
एमिकस क्युरीका ५ जना सदस्यले राय दिएपछि बहस सकिएको हो । शुक्रबार एमिकस क्युरीका तर्फबाट गीता पाठकले राय दिएकी थिइन् ।
बहस सकिएपछि संवैधानिक इजलासले फागुन १० गतेसम्म बहस नोट दिन आदेश दिएको छ । मुद्दाको अर्को पेशी फागुन ११ गते तोकिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ११ गतेपछि फैसलाको प्रक्रिया शुरु हुने र त्यसपछि जति बेला पनि अदालतको फैसला आउन सक्ने इजलासमा जानकारी गराए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेको थियो ।
सर्वोच्च अदालतमा पुस ७ गते नेकपाका प्रमुख सचेतक देव गुरुङसहितका सांसदहरु र अन्य विभिन्न व्यक्तिले रिट दायर गरेका थिए । रिट निवेदनमाथि माघ ४ गतेदेखि निरन्तर सुनुवाइ चलिरहेको थियो ।




















