एजेन्सी – सेनाले कु गरेर सत्ता हातमा लिएको विरोधमा म्यानमारमा हजारौँ सवारी साधान सडकमा राखेर प्रदर्शनकारीहरूले विभिन्न शहरमा प्रदर्शन गरेका छन् ।
सेनाले शासन हातमा लिएपछि म्यानमारमा निरन्तर प्रदर्शन हुँदै आई रहेको छ । प्रदर्शनकारीहरूले नेतृ आङ सान सू चीसहित अन्य जननिर्वाचित नेताहरूको रिहाइको माग गरेका छन् ।
देशकै ठुलो शहर याङ्गुनमा सवारी चालकहरूले गाडी तेर्साएर सडक अवरुद्ध पारेका छन् ।
अवज्ञाका कार्यक्रम अन्तर्गत त्यहाँ सडक जाम गरी प्रदर्शन गरिएको हो । म्यान्डलेको रेलवे स्टेसन नजिकै सुरक्षाकर्मीले गोली चलाउदा एक जना घाइते भएका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा सुरक्षाकर्मीहरूले म्यान्डले रेलवे स्टेसनमा कैयौँ राउन्ड गोली चलाएको देखिएको छ । प्रदर्शनकारीहरूले सेनाको सामान बोकेको रेललाई अघि बढ्नबाट रोक्ने प्रयास गरेपछि गोली चलेको हो ।
म्यान्मारका अन्य सहरहरूमा पनि प्रदर्शनहरू भएका छन् । राजधानीमा इन्जिनियर, चिकित्सक तथा शिक्षकहरू सेना विरुद्ध आफ्नो ऐक्यवद्धता देखाउन आयोजना गरिएका कार्यक्रममा सहभागी भएका छन् ।
सेनाले फेरि निर्वाचन गराउने वाचा दोहोर्याएपनि प्रदर्शनकारीले त्यसमा विश्वास गरेका छैनन् ।




















