काठमाण्डौं – तामाङ समुदायले आज सोनाम ल्होसार अर्थात नयाँ बर्ष देशै भरी विविध कार्यक्रम गरी मनाउदै छन् । माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार मञ्जुश्री पात्रो अनुसार आजदेखि २८५७औँ वर्ष शुरु भएको छ ।
यो समुदायमा आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व देशै भरी रहेका तामाङ समुदायले मनाउदै आएका छन् ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएको छ । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
यस वर्ष शुक्रबार मनाइने पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।




















