काठमाण्डौ – कम्युनिस्ट पार्टीका साना ४ दलले संयुक्त मोर्चा घोषणा गरेका छन् । मोर्चामा सरकारले प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द विप्लवको समेत सहभागीता रहेको छ ।
४ राजनीतिक दलले १५ सदस्यीय रणनीतिक संयुक्त मोर्चाको घोषणा गरेका छन् । मोर्चाले सरकारविरुद्ध माघ २९ देखि फागुन १८ गतेसम्मका संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।
कार्यक्रम अनुसा फागुन ६ गते बुटवल, १४ गते धनगढी र १८ गते इटहरीमा जनसभा गर्ने मोर्चाले जनाएको छ । मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रहेका छन् ।
रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समितिमा सीपी गजुरेल, राम सिंह श्रीस, पवनमान श्रेष्ठ, सन्तोष बुढा, नवीनकुमार विश्वकर्मा, अज मोहम्मद, ऋषिराम कट्टेल, रामदुलार महतो, राजेश वान्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नविन रिजाल छन् । ३ जना भने पछि थपिने छन् ।
मोर्चाको पहिलो बैठकले अध्यक्ष र सचिव चयन गर्नेछ । साथै प्रदेश, जिल्ला र आवश्यकताअनुसार स्थानीय तहहरुमा समेत समिति गठन गरिने जनाएको छ ।




















