काठमाण्डौं – सरकारको निर्देशनमा प्रहरीले नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेपछि त्यसको चौतर्फी विरोध शुरु भएको छ ।
पक्राउको बिरोध दाहाल–नेपाल समूहका शिर्ष नेताहरुका साथै प्रमुख प्रतिपक्षी दलका नेताहरुले झाँक्रीलाई पक्राउ गरेर भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई मुठभेडमा लगेको र आफ्नो निहीत स्वार्थ पूरा गर्ने षड्यन्त्र रचेको आरोप लगाएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रामकुमारी झाँक्रीलाई पक्राउको विरोध गर्दै तत्काल रिहा गर्न माग गरेका छन् । पौडेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि नाङ्गो हस्तक्षेप गर्दै सरकारले झाँक्रीलाई पक्राउ गरेको छ । हामीले ल्याएको लोकतन्त्र बोल्नै नपाउने भन्ने होइन। त्यसैले रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको घटनाको म घोर भत्सर्ना गर्दछु । साथै उनलाई विना शर्त रिहा गर्न समेत माग गर्दछु ।’
नेपाली कांग्रेसका अर्का नेता गगन थापाले असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्नेमाथि प्रश्न गर्नेहरुलाई सरकारले झ्यालखानामा राखेर तर्साउन खोजेको बताएका छन् । सामाजिक सन्जालमा सत्यको पक्षमा बोल्ने मुख त्रासले बन्द नहुने भन्दै उनले सरकारलाई झ्यालखानाको संख्या थप्न सुझाव दिएका छन् । उनले लेखेका छन्, उहिले महाराजा अहिले राष्ट्रपति १ सरकार झ्यालखानाको संख्या थप, किनकि सत्य को पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन ।’
नेपाली काँग्रेसकै नेता डा.शेखर कोइरालाले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले सर्वसत्तावादी र अधिनायकवादी चरित्र देखाएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा कोइरालाले सरकार जति रहन्छ, देश त्यति नै अनिश्चितताको भूमरीमा फस्ने पनि ठोकुवा गरेका छन् । कोइरालाले झाँक्री पक्राउको भत्सना गर्दै तत्काल रिहाइको माग समेत गरेका छन् ।
यता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन् । परिसडाँडामा आदिवासी जनजाति मगर संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले तथाकथित राष्ट्रपतिको विरोध गरेकोमा झाँक्रीलाई पक्राउ गरिएको बताए । ‘पुलिसले हिजै पक्राउ गर्न बल गरेको थियो । हामीले नपक्रन जोड गरेका थियौं । आज बिहान प्रहरी आएर उहाँलाई जबरजस्ती पक्राउ गरेर लिएका छन् । कमरेड रामकुमारी झाँक्री त छुट्नु होला तर यसबाट उनीहरूले के गर्न लागेका छन् भन्ने देखिन्छ।’ प्रचण्डले बताए ।
झाँक्रीलाई राज्यविरुद्धको कसुरमा नेपाल प्रहरीको अपराध महाशाखाले शंखमुलस्थित निवासबाटै पक्राउ गरेको छ । राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै नेपाल प्रहरीको अपराध महाशाखाको टोलीले झाँक्रीलाई बिहिबार दिउँसो उनकै निवासट पक्राउ गरेको छ । महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भन्दै जरुरी पक्राउ पूर्जी दिउको थियो ।




















