विराटनगर – पोखराका फोटोग्राफर बिमल कार्कीको सामाग्री चोरी गर्ने २ जना युवालाई प्रहरीले नियन्णमा लिएको छ ।
प्रहरीले अर्जुनधारा नगरपालिका ६ महानन्द चोकका २० वर्षीय अनुप ढकाल र सोही स्थानका २० वर्षीय सारांश भट्टराई नियन्त्रणमा लिएको हो ।
पोखरा महानगरपालिका २० मलामका कार्कीलाई अनुपले फोनबाट विराटनगरमा भब्य फेसन सो हुन लागेको र उत्त कार्यक्रमको फोटो खिचीदिन भन्दै पुस २४ गते इ–सेवामार्फत ४ हजार रुपैयाँ पेश्की समेत पठाएको बिराटनगर प्रहरीले जनाएको छ । विमल त्यसको भोलिपल्टै पोखराबाट आएर मोरङको बूढीगङ्गा १ स्थित आरएन होटल एण्ड लजमा बसेका थिए । कार्कीलाई अनुपले होटलको कोठामा फोटोग्राफीका सबैसामाग्रीहरू राख्न लगाइ खाना खाने बहानामा इटहरीमा रहेको प्राइम होटलमा लगेका थिए ।
अनुपले विमललाई खाना खाने होटलमा नै छाडी बूढीगङ्गाको होटलबाट सबै सामाग्री चोरी गरी फरार भएका थिए । कार्कीको उजुरी पछि जिल्ला प्रहरी कार्यालय मोरङले अनुपलाई उनकै घरबाट बिहीबार साँझ मात्र पक्राउ गरेको हो ।
अनुपको साथबाट प्रहरीले क्यामरा लाइट ब्याट्री ५ थान, चार्ज गर्न मिल्ने ब्याट्री ६ सेट, मेमोरी कार्ड ६, ड्रोन १ थान, क्यामरा ब्याट्री ६ थान, रिफ्लेक्टर १ थान, माईक २ थान, पावर बैंक ३ थान, ट्रिगर २ थान, ब्याट्री चार्जर ६ थान, ल्यापटप १ थान, झोला ७ थान, क्यामरा ३ थान र लाइट १ थान बरामद गरेको छ ।




















