एजेन्सी – अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले कोरोना भाइरस संक्रमण प्रभावितका लागि १९ खर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज घोषणा गरेका छन् ।
जनताको नाममा सम्बोधन गर्दै उनले ठूलो कोरोना राहत प्याकेज घोषणा गरेका हुन् । राहत प्याकेजलाई अनुदान र कोरोना रोकथाम तथा नियन्त्रण गरि दुई भागमा विभाजित गरिएको छ ।
कार्यक्रममा सिधै नगद भुक्तानी, बेरोजगारी भत्ता प्रदान, भाडा राहत, खाद्य सहायता, साना व्यावसायीका लागि राहत लगायतका विषय समेटिएका छन् ।
कार्यक्रम अन्तर्गत रहेक अमेरिकी परिवारलाई २ हजार डलर प्रदान गरिनेछ । बाइडेनले घोषणा गरेको यो प्रस्ताव संसदबाट पारित हुन भने बाँकी छ ।
अमेरिकामा दोस्रो लहरको कोरोना संक्रमण देखिएको छ । १ सातादेखि दैनिक २ लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण देखिन थालेको छ । दैनिक सरदर ४ हजारको मृत्यु भैरहेको छ ।
अमेरिकामा कोरोना संक्रमणका कारण हाल सम्म ३ लाख ९८ हजार भन्दा बढीको मृत्यु भैसकेको छ । २ करोड ३८ लाख ४८ हजारभन्दा धेरै संक्रमित भएका छन् ।




















