दीपक श्रेष्ठ/रासस
गोरखा – नेपाल एकिकरणको उद्गमस्थलको रुपमा चिनिने ऐतिहासिक लिगलिगकोट दरबारको सरंचना भत्किएको बर्षौ भयो । करिब २८ रोपनी क्षेत्रफलमा फैलिएको लिगलिगकोटको मूल दरबार मात्र होइन, दरबार परिषर भित्रका अधिकांस भौतिक, पुरातात्विक तथा ऐतिहासिक महत्वका संरचना जिर्ण छन् । दरबार परिषर भित्रको मूल दरबारको पर्खालको थोरै जग मात्र भत्किन बाँकी छ । त्यस बाहेकका, गढी, गढी सुरक्षाका लागि निर्माण गरिएका खाइ (सुरुङ), उपासे घर लगायत सवै संरचना भत्किएका अबस्थामा छन् । द्रब्य शाह राजमार्गको ठाँटी पोखरी–आँपपिपल सडकखण्डमा पर्ने बिजुली डाँडाबाट करिब ५ सय मिटर उकालो चढेपछि लिगलिगकोटको मुल गढीमा पुगिन्छ ।
त्यहाँ पर्खाल जस्तो देखिने करिब ५ सय पुरानो वर्ष ऐतिहासिक दरबार छ । पालुङटार नगरपालिका–२ स्थित आपँपिपलमा पर्ने लिगलिगकोट दौड जितेर राजा छान्ने परम्परा बोकेको ऐतिहासिक स्थल पनि हो । बर्तमान नेपाल एकिकरणका अभियान्ता लम्जुङका राजा यशोब्रम्हा शाहाका कान्छा छोरा द्रव्य शाह बि.स १६१५ मा दौड जितेर लिगलिगकोट राजा बन्नु भएपछि त्यहीबाट नै बर्तमान नेपाल एकिकरण प्रारम्भ भएको मान्निछ । लिगलिगकोट दरबारको पुनःनिर्माण र संरक्षणमा ध्यान नपुग्दा एतिहासिक स्थलको अध्ययन र अवलोकनका लागि त्यहाँ पुग्ने पर्यटकहरु जिर्ण बनेको भौतिक संरचनामा मात्र हेरेर फर्कनु पर्ने बाध्यता रहेको लिगलिगकोट बिकास अभियानका अध्यक्ष पूर्णबहादुर राना बताउनुहुन्छ ।
सयौ बर्ष अघि निर्माण भएको दरबारको भग्नावशेष मात्र बाँकी छ । ऐतिहासिक ठाउँको संरक्षणमा स्थानीयहरु एकजुट भएता पनि पर्याप्त बजेटको अभावमा पुनःनिर्माण, जिर्णोद्धार र संरक्षणको काम अगाडी बढाउन नसकिएको उहाँको भनाई छ । ‘बि.स १६१६ भाद्र २५ गतेदेखि तत्कालि राजा द्रव्यशाहले माझकोट (हालको गोरखा दरबार) बाट राजकाज सुरु गरेपछि लिगलिगकोट दरबारको संरक्षणमा कसैको ध्यान पुगेको देखिदैन, उहाँ भन्नुहुन्छ, ‘संघिय संरचनापछि पछिल्लो समय भने संघ, प्रदेश र स्थानीय सरकारले बल्ल चासो दिन थालेका छन् ।’ बजेटको अभावमा लिगलिगकोट दरबारको परिषरमा रहेका मठमन्दिरको संरक्षण तथा दरबार क्षेत्रको घेराबार लगाउन समेत नसकिएको अध्यक्ष राना बताउनुहुन्छ ।
‘बडादशैमा नौ दिनसम्म पुजारी बस्नुपर्ने उपासे घर पनि जिर्ण छ, रानाले भन्नुभयो, अन्य भौतिक संरचनाको अबस्था उस्तै छ कालिका मन्दिरमा छाना समेत छैन ।’ बडादशैमा पुजारी जिर्ण भएकोे उपासे घरमा बसेर कालिका भगवतीको उपसाना गर्नुपर्ने बाध्यता रहदै आएको उहाँ बताउनुहुन्छ । दरबार परिषर भित्र मुल गढी सहित ५ वटा ऐतिहासिक गढीहरु छन् । ‘ठुलो गढी, बैठक भवन, सुरक्षा हेर्न दुई वटा भवन, सूचना प्रवाह गढी लगायतका गढीको अबस्था उस्तै छ ’ अध्यक्ष रानाले भन्नुभयो,‘ संरक्षणको अभावमा सबै संरचना लोप अबस्थामा पुगेका छन् ।’
दरबार परिष्र भित्र मूलदरबारदेखि करिब २५० सय मिटर दुरीमा रहेका गढीहरुलाई मूल गढी, ठूलो गढी, मसिनो गढी, चारपाटे गढी, दर्खे गढी नामले चिन्निछ । लिगलिगकोटको मूल गढीमा भाई भारदारहरुको बैठक लागि प्रयोग हुने गरेको पाइन्छ । ठूलो गढीबाट पश्चिम तर्फबाट शत्रुहरुको आक्रमणबाट जोगाउने, पूर्व तथा उत्तर तर्फको सुरक्षा हेर्ने काम चारपाटे गढी, दक्षिण पश्चिमको सुरक्षा हेर्ने काम दर्खे गढीबाट हुने गर्दथ्यो । गढीको सुरक्षाका लागि दरबार परिष्रमा बनाइएका खाइ (खाडल) पनि पुरिएको अबस्थामा रहेको उहाँ बताउनुहुन्छ । शत्रु दरबार भित्र आक्रमणका लागि शत्रु पस्ने प्रयास गरे खाइमा खसेर निस्कन नसकोस् भनेर निर्माण गरिएको पाइन्छ ।
बि.स १६०४ सालदेखि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको सुरुवात भएको मानिन्छ । १६१५ मा द्रव्य शाहले दौड जितेर राजा भएपछि लिगलिगमा दौडिएर राजा हुने परम्पराको पनि अन्त्य भयो । लिगलिगकोट दरबारको नाम कसरी रहन गयो भन्ने ठ्याक्कै एकिन नभएपनि मगर समुदायका बाहुल्यता रहेको ठाउँ भएकाले मगर भाषाको ‘लिङलिङ’ शब्द अपभ्रंश भएर दरबारको नाम लिगलिगकोट रहन गएको मानिन्छ । नेपालको इतिहास अध्ययन गर्न चाहानेहरु कुनै न कुनै बहानामा लिगलिग आउने पर्ने बनाउनु पर्छ भन्ने पक्षमा पालुङटार नगरपालिका रहेको नगरपालिकाका मेयर दिपकबाबु कँडेलले बताउनुहुन्छ ।
लिगलिगकोटमा दौडेर राजा हुने पुरानो परम्परालाई बचाइ राख्न हरेक बर्ष लिगलिगे दौड प्रतियोगिता हुदै आएको छ । उक्त दौड प्रतियोगितामा बिजयी हुने धावकलाई एक बर्षका लागि लिगलिगे राजा घोषणा गर्ने परम्परा अहिले पनि छ । समुन्द्र सतहबाट करिव ११ सय ५० मिटर उचाईमा रहेको लिगलिगकोट गोरखा लम्जुङ र तनहुँ जिल्लाको संगम स्थल पनि हो । लिगलिगकोट दरबारबाट तिनओटै जिल्लाका धेरैजसो रमणिय क्षेत्रलाई नजिकबाट नियाल्न सकिन्छ भने मनोरम हिमश्रृखलाको दृष्यले त्यहाँ पुग्ने पर्यटकहरु लोभिने गर्दछन् ।
दरबार परिषरमा रहेका कलात्मक मठमन्दिरको अबस्था उस्तै
लिगकोट दरबार भित्र ऐतिहासिक मात्र नभएर धार्मिक महत्व बोकेका मठमन्दिर पनि थुप्रै छन् । घले राजाका पालामा स्थापना भएका मठमन्दिरसंगै द्रव्य शाह राजा भएपछि पनि स्थापना गरिएका मठमन्दिरले लिगलिगकोटको कलात्मकता झनै बढाई दिएको छ । लिगलिगकोट दरबारको मध्य भागमा लिगलिग कालिका मन्दिर, पूर्व तर्फ भूमे मन्दिर, उत्तर तर्फ चण्डिथान, दक्षिण तर्फ भिमसेन थान, दर्खेदेवी र पश्चिम तर्फ शिव मन्दिर रहेका छन् । ‘तर ति मठमन्दिरहरुको अबस्था पनि उस्तै छ, लिगलिग बिकास अभियानका अध्यक्ष रानाले भन्नुभयो, ‘कतै मन्दिरमा छाना छैन त कुनै मन्दिरका भग्नावशेष मात्र बाँकी छ ।’
दरबार परिषर भित्र रहेका मन्दिरहरुमा अहिले पनि निरन्तर रुपमा परम्परा अनुसार नै नियमित पुजाआजा गर्ने गरिएको उहाँ बताउनुहुन्छ । ‘दशैमा बिशेष पुजा गर्ने प्रचलन अहिले पनि छ, दरबार भित्रका मठमन्दिरमा हरेक दिन परियार थरका व्यक्तिले कर्नाल, नगरा, रासा बजाएर बर्षेनी हुन्छ, उहाँले भन्नुभयो, यस अघि लिगलिगकोट बिकास अभियानले उहाँहरुलाई पारिश्रमिक दिने गरेको भएपनि अहिले भने पालुङटार नगरपालिकाले पारिश्रमिक उपलब्ध गराउदै आएको छ ।’
बिनियोजित बजेट कार्यान्वयनमा ढिलाई
पछिल्लो पटक लिगलिगकोटको बिकासका लागि बजेट बिनियोजना नभएको भने होइन । तर बिनियोजन भएका बजेट समेत समयमा कार्यान्वयन नहुदा दरबार पुनःनिर्माण र जिर्णोद्धारमा ढिलाई हुदै आएको छ । गण्डकी प्रदेश सरकारले लिगलिगकोटमा ऐतिहासिक संग्राहालय निर्माण गर्नका लागि आर्थिक वर्ष २०७५÷०७६ मा रु १ करोड बजेट विनियोेजन गरेको भएता पनि काम सुरु नै हुन सकेन । जग्गा विवादका कारण समयमा काम सुरु हुन नसकेको पालुङटार नगरपालिकाका मयेर कँडेल स्विकार गर्नुहुन्छ । गत आर्थिक बर्षमा लिगलिगकोटको बिकासका लागि नगरपालिकाले बिनियोजन गरेको ५० लाख रुपैया पनि खर्च नसकेको नगरप्रमुख कँडेल बताउनुहुन्छ । अबका दिनमा त्यस क्षेत्रको बिकासका लागि सवै ढंगले लाग्ने उहाँको भनाई छ ।
चालु आर्थिक बर्षमा समेत नगरपालिकाले रु ६० लाख रुपैया बजेट लिगलिगकोटको बिकासका लागि बिनियोजन गरेको मयेर कँडेल जानकारी दिनुभयो । ‘लिगलिगकोट आफैमा एउटा भ्यू टावर भएका कारण त्यहाँबाट आखाँले मनोरम दृष्याबलोकनका लागि दुरबिन राख्ने योजना नगरपालिका रहेको छ, नगरप्रमुख कडेलले भन्नुभयो, ‘बिजुली डाँडादेखि लिगलिगसम्म पुग्ने सिडी निर्माणमा समेत गण्डकी प्रदेश सरकारले बिनियोजन गरेको बजेटबाट काम भइरहेको छ ।’ त्यस्तै दरबारको पुनःनिर्माणका लागि समते पुरातत्व बिभाग मार्फत काम गर्न आफुहरु लागि परेको उहाँको भनाई छ ।
पर्यटकको आर्कषणका लागि पूर्वाधार निर्माण जोड
लिगलिगकोटमा आन्तरिक तथा बाह्य पर्यटकको आर्कषणका लागि अहिले तिनैवटै तहका सरकारले पूर्वाधार बिकासको कार्यलाई जोड दिएका छन् । नगरपालिकाले स्थानीय केही संघसस्थाको सहयोगमा पर्यटकलाई लक्षित गरि त्यहाँ आउने पर्यटकहरुलाई स्थानीय उत्पादनको स्वाद चाख्न पाउने र बास बस्नका लागि होमस्टे सञ्चालनमा ल्याएको छ । त्यस्तै गण्डकी प्रदेशले ऐतिहासिक संग्रालय निर्माणका लागि बजेट बिनियोजन गरेको नगरप्रमुख कँडेलले जानकारी दिनुभयो । त्यस्तै लिगलिगको दरबार परिष्र नजिकै नेपालकै सवै भन्दा ठूलो राष्ट्रिया झण्डा राखिएको उहाँले बताउनुभयो ।
‘करिब ६० फिट अग्लो फलामको पोलमा ४० फिट ठूलो राष्ट्रिया झण्डा राखिएको छ, मेयर कँडेलले भन्नुभयो, यो झण्डाले लिगलिगकोटको शोभा मात्र बढाइ दिइएको छैन, यसले राष्ट्रिय एकताको सन्देष समेत झल्काई दिएको छ ।’‘इतिहासलाई बचाइ राख्न हरेक बर्ष दौड प्रतियोगिता मार्फत राजा छान्ने परम्परालाई पनि निरन्तरता दिदै आएका छौ, उहाँले भन्नुभयो,‘ हामी लिगलिगकोटलाई जोडेर पालुङटार नगरपालिकालाई स्पोर्ट टुरिजमको रुपमा बिकास गर्न लागि परेका छौ ।’ त्यस्तै लिगलिगकोटसम्म पुग्न फुट ट्रेल निर्माणको काम पनि भइरहेको मयेर कँडेलको भनाई छ ।
पर्यटकको आर्कषण उस्तै
लिगलिगकोटको पर्यटन प्रर्बद्धनका लागि अभियान शुरु भएसंगै त्यहाँ आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढ्न थालेको छ । एतिहासिक स्थलको रुपमा चिनिने लिगलिगकोटमा अहिले दिनानु दिन घुम्न आउने पर्यटकहरुको संख्यामा बृद्धि हुन थालेको स्थानीयबासी सरिता गान्धारी बताउनुहुन्छ । हप्ताको शुक्रबार र शनिबार बढि पर्यटकहरु लिगलिगकोट आउने गरेको गर्छन, शनिबारको दिन त एक हजार भन्दा बढी नै दरबार हेर्न आउछन्’ उहाँले भन्नुभयो, ‘पर्यटकहरु आउने क्रमम बढेपछि यहाँको दैनिकी नै फेरिन थालेको छ ।’ लिगलिगकोट पर्यटकहरु सवारी साधन रिजर्भ नै गरेर पुग्ने गरेका छन् ।
लिगलिगकोट दरबार परिषरको उचित संरक्षण नहुदा ऐतिहासिक सम्पदाको लोप हुन्छ की भन्ने चिन्ता स्थानीयको छ । ‘यो ऐतिहासिक क्षेत्रको संरक्षण र प्रबद्र्धन गर्न सके लिगलिगकोट मात्र नभएर यसले सिंगो गोरखाको इतिहासलाई बिश्वसामु चिनाउन मद्दत पुग्छ, स्थानीबासी गान्धारी भन्नुहुन्छ, तर राज्यले उचित ध्यान नदिदा यहाँका ऐतिहासिक महत्व बोकेका पुरातात्विक बस्तुहरुको संरक्षण हुन सकेको छैन ।’ राज्यले लिगलिगकोट क्षेत्रको व्यापक प्रचार–प्रचार प्रसार गर्न सके यहाँ बर्षेनी लाखौ पर्यटक भित्र्याउन सक्ने प्रचुर सम्भावना छ ।
दरबार परिषरका सबै संरचना भग्नावशेष भएको र त्यहाँ रहेको बहुमुल्य बस्तु चोरी हुने तथा हराउन सक्ने भएकोले तत्कालै दरबारको सुरक्षा घेरा बार आवश्यक भएकोले पुरातत्व वा नेपाल सरकारका सरोकारवाला निकायले ध्यान दिनुपर्ने स्थानीयको भनाई छ ।







