गोरखा – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्धारा संसद बिघटन गरेको बिरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठनले गोरखामा बिरोध प्रर्दशन गरेको छ ।
राष्ट्रिय युवासंघ तथा अनेरास्वबियू गोरखाले सदरमुकाममा बिरोध प्रर्दशन गरेको हो ।
नेकपा पार्टी कार्यालय पाटेचौरमा जम्मा भएका युवासंघ र अनेरास्वबियूका नेता कार्यकर्ताहरुले लोकतान्त्रिक चोकमा कोणसभा गर्दै युवासंघ गोरखाका संयोजक असोक शर्मा भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक कदमको बिरुद्धमा लाग्न सम्पूर्ण युवा बुद्धिजिवि तथा आम नागरिकहरुलाई अपिल गरे ।
उनले आफैले निर्वाचन जिताएर पठाएको व्यक्तिले अहिले प्रतिगामी कदम चालेको भन्दै उक्त प्रतिगामी कदमको बिरुद्ध अब सर्घषमा उत्रने बेला आएको समेत बताए । प्रधानमन्त्री ओलीले चालेको संसद बिघटनको असंबैधानिक कदमले इतिहासको पानामा ओलीलाई कलंकित बनाएको भन्दै प्रतिगामी कदम फिर्ता नलिए जस्तो सुकै कदम चाल्न पनि युवाहरु तयार रहेको बताए ।
उनिहरु बिरोध कार्यक्रममा सहभागीहरुले असबैधानिक कदम खारेज गर, प्रतिगमन मूर्दाबाद, संघिय लोकतान्त्रिक गणतन्त्र जिन्दाबाद लगायतका नारा लगाएर सडकमा उत्रिएका थिए ।




















