गोरखा – हातहतियार तथा खरखजना मुद्वामा फरार रहदै आएका गोरखा बारपाकका ‘बाघे’ भनिने धनबहादुर घलेले गोरखा प्रहरी समक्ष आत्मसर्मपण गरेका छन् ।
जिल्लाको साविक बारपाक गाबिस ४ बारपाक घर भएका उनलाई ०७२ सालमा हातहतियार तथा गोठीगठा लिई हिडेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिदा हतकडी सहित स्थानियले हुलहुज्जत गरी भगाएका थिए ।
प्रहरीको फरार सुचिमा रहेका घलेले आफैले आज जिल्ला प्रहरी कार्यालय गोरखामा आत्मसर्मपण गरेका हुन । ‘तात्कालिन अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर गोरखा सदरमुकाम तर्फ ल्याउने क्रममा स्थानियले अवरोध गरेर हतकडी सहित भगाएको’ जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङले बताए । उनले ‘अनेकन प्रयास पछि आज हामीले उनलाई प्रहरी समक्ष आत्मसर्मपण गर्न बाध्य पारयौं’ भने ।
६ बर्ष सम्म फरार रहेका घलेलाई तात्कालिन अवस्थामा ०७३ साल मंसिर २२ गते जिल्ला प्रशासन कार्यालय गोरखाले हातहतियार तथा खरखजाना मुद्वामा ९ महिना जेल र ८० हजार रुपैयाँ जरिवाना गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएकाे छ ।
०७२ साल जेष्ठ राष्ट्रपति बिद्यादेवी भण्डारी बारपाक आउने भए पछि ठुलो संख्या परिचालन गरीएको सुरक्षाकर्मी बिच लोड गरिएको अटोमेटिक पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान र ३ राउण्ड थ्रिनटथ्रिको गोलि सहित देखिए पछि घलेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो ।
उनलाई प्रहरीले गोरखा सदरमुकाम ल्याउने क्रममा स्थानियले अवरोध गरी हतकडी सहित भगाए पछि ‘बाघे’ घलेलाई प्रहरीले ब्यापक खोजी गरेको थियो । फरार भनिएको घले तात्कालिन माओवादीको विभिन्न कार्यक्रममा देखिन थाले पछि भने प्रहरीलाई टाउको दुखाईको बिषय बनेको थियो ।
प्रहरीले घलेलाई आजै गोरखा जिल्ला अदालतमा बुझाएको भएता पनि बिना पिसिआर कारागार चलान गर्न नपाईने भए पछि उनि अहिले प्रहरीको थुनुवा कक्षमा विशेष निगरानीमा राखिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
पछिल्लो समय उनले आत्मसर्मपण गर्नुमा पनि राजनैतिक दलको सहयोग भएको जानकारहरु बताउछन् ।




















