गोरखा – पत्रकार राजेन्द्र न्यौपानेलाई ज्यान मार्ने धम्की दिएका नेपाल दलित बिधार्थी संघ गोरखाका अध्यक्ष रचन परियारलाई प्रहरीले आज कागज गराएर छोडेको छ ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कमिटिका सदस्य, गोरखा शाखाका साधारण सदस्य एवंम मनासलु डटकमका सम्पादन समेत रहेका न्यौपानेलाई परियारले गएको शनिबार राती म्याजेन्जरमा कल गरेर समाचारको बिषयलाई लिएर ज्यान मार्ने धम्की दिएका थिए ।
पत्रकार महासंघ गोरखा शाखाले निजलाई पक्राउ गरि कारवाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि परियारलाई प्रहरी कार्यालयमा ल्याएर कागज गरेर छाडिएको नेपाल पत्रकार महासंघ गोरखाले जनाएको छ ।
परियारले आफु मादक पर्दाथ सेवन गरेर उत्तेजनामा आएर त्यस्तो बोलेको भन्दै आइन्दा त्यस्ता खालका कुनै पनि गल्ती नगर्ने गरि माफी मागे पछि कागज गराएर छाडिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
गोरखा नगरपालिका ५ घर भएका उनले आफुबाट ठूलो गल्ती भएको भन्दै एक पटकलाई माफी दिन आग्रह गरेपछि अबदेखि त्यस्ता खालका क्रियाकलाप नगर्ने सर्तमा छोडिएको हो । पत्रकार न्यौपाने सहित पत्रकार महासंघ गोरखाले पनि उनलाई एक पटकका लागि कागज गरेर छोड्न सहमती जनाएको न्यौपानले बताए ।
परियारले गोरखा अस्पतालका चिकित्सक माथि कुटपिट गरेको समाचार लेखेको बिषयलाई लिएर शनिबारराती म्यासेन्जरमा कल गरेर पत्रकार न्यौपानको ज्यानसम्म लिने धम्की दिएका थिए ।


