गोरखा – गोरखाको तिनै तह राजनैतिक चिन्तनबाट मुक्त नभएका कारण जिल्लामा लैगिंक हिंसामा बृद्वि भएको सरोकारवालाहरुले बताएका छन् ।
गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गोरखाको आयोजनामा भएको जातिय विभेद र कोभिड–१९ का कारण महिलामा परेको असर विषयक अन्रतक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरुले त्यस्तो कुरा बताएका हुन् ।
कार्यक्रममा सहभागीहरुले पिडितलाई न्यायको दिलाउन अधिकारकर्मि र नागरिक अगुवाको भूमिका पनि महत्वपुर्ण हुने भन्दै कानुन कार्यन्वयन गर्ने तहलाई खवरदारीका लागि समेत भूमिका खेल्नुपर्ने बताएका छन् ।
पछिल्लो समय महिलामा चेतनाको स्तर बृद्वि भएका कारण पनि महिला हिंसाका घटना वाहिरिने क्रम वढेकोमा महिला मानव अधिकारबादीहरुले खुशी ब्यक्त गरे । तर पावरवाला र पहुचवाला ब्यक्तिले कानुनको दुरुपयोग गर्दा यस्ता घटनाका कतिपय पिडितले न्याय पाउन नसकेको गुनासा गरे ।
कार्यक्रममा मानव अधिकारकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा गैर सरकारी संस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा अधिवक्ता रमेश अधिकारीले ‘जातिय विभेद र कोभिड–१९ का कारण महिलामा परेको असर’ बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।


