गोरखा – बुढीगण्डकी जलबिद्युत आयोजनाको डुबान प्रभावितहरुले विभिन्न माग राख्दै आजबाट आयोजनाको कार्यालयमा धर्ना दिएका छन् ।
गोरखा र धादिङको सिमानामा बन्न लागेको बुढीगण्डकी जलबिद्युत आयोजनाको डुबान क्षेत्रका प्रभावितहरुले पुर्नबास र पुर्नस्थापनाको माग गर्दै आयोजनाको कार्यालयमा धर्ना सुरु गरेका हुन् ।
बुढीगण्डकी जलबिद्युत आयोजना राष्ट्रिय सरोकार समितिको नेतृत्वमा प्रभावित क्षेत्रका बासिन्दाहरु सिउरेनीटार स्थित बुढीगण्डकी वातावरण, मुआब्जा, पुर्नबास तथा पुनस्थापन इकाइको कार्यालय आजबाट धर्ना दिन थालेको समितिका अध्यक्ष हरेराम ढकालले बताए । धर्ना कार्यक्रम मंसिर २४ गतेसम्म जारी रहने सरोकार समितिले जानकारी दिएको छ ।
प्रभावित क्षेत्रका बासिन्दाहरुलाई एकै किसिमका जग्गाको पनि कतै धेरै, कतै थोरै मुआब्जा दिने गरको भन्दै सुकुम्बासी र ऐलानी जग्गामा बसोबास गरिरहेकाहरुलाई निश्चित मापदण्ड बनाएर मुआब्जा वितरण गर्न मन्त्रिपरिषद बैठकले गरेको निर्णय कार्यान्वयन गर्न पनि धर्ना दिईएको हो । साथै घरवस्ती रहेको जग्गा, सहायक मोटरबाटोले छोएको र घरवस्ती र सहायक मोटरबाटोले छोएको तीनै किसिमको जग्गाको मुआब्जा प्रतिरोपनी ७ लाख ७३ हजारका दरले पाउनुपर्ने माग समितिको अडान रहेको छ।



