गोरखा – विभिन्न माग राख्दै भोलीदेखी बुढीगण्डकी जलबिद्युत आयोजनाको कार्यालय ध्याल्चोकमा सरोकार समितिले धर्ना कार्यक्रम तय गरेको छ ।
बुढी गण्डकी सरोकार समितिले डुवान क्षेत्रमा मुआब्जा दिन बाँकी रहेका जग्गाको तत्काल मुआब्जा बितरण गर्न, घरगोठ र बोटबिरुवाको लगत सार्वजनिक, दररेट निर्धारण र मुआब्जा बितरण लगायतको माग राख्दै धर्नाको कार्यक्रम सार्वजनिक गरेको हो ।
समितिले मंसिर २४ गतेसम्म आयोजनाको बाताबरण, मुआब्जा पुर्नवास तथा पुनस्थापन इकाइ कार्यालय बाहिर धर्ना दिने संयोजक हरेराम ढकालले बताए । सरोकार समितिले ऐलानी जग्गामा बसोबास गर्ने व्यक्तिहरुलाई मन्त्रिपरिष्दको निर्णय अनुसार मापदण्ड बनाएर तत्काल मुआब्जा दिन, सिमानामा परेको भनी मुआब्जा रोक्का गरिएको जग्गाको मुआब्जा बितरण गर्न, छुट दर्ता भएका जग्गाको मुआब्जा दिन भनेको छ ।
त्यस्तै गरी घर तथा बस्ती क्षेत्र र सहायक मोटरबाटोले छोएको जग्गाको मुआब्जा जिल्ला मुआब्जा निर्धारण समितिले निर्धारण गरे बमोजिकम प्रतिरोपनी ७ लाख ७३ हजार रुपैयाँ उपलब्ध गराउन, मुआब्जा निर्धारण समितिको निर्णय अनुसार ५ रोपनी भन्दा कम जग्गा हुनेलाई मुआब्जामा १५ प्रतिशत र १० रोपनी भन्दा कम जग्गा हुनेलाई १० प्रतिशत थप रकम उपलब्ध गराउन तथा पुर्नबास र पुनस्थापनाको ग्यारेन्टी गर्न माग गरेको छ ।
सरोकार समितिले हाल बसोबास गरिरहेकै वडामा पुर्नबास हुने गरि अन्य जग्गा रोक्का गर्न समेत माग गरेको छ । धर्ना कार्यक्रममा २५ जना भन्दा बढी सहभागी नहुने र सबैलाई अनिबार्य मास्क र भौतिक दुरी कायम गर्न भनेको छ ।
सरोकार समितिले आफुहरुको मागमा बारम्बार आयोजनाको ध्यानकर्षण गराएको भएपनि सुनुवाई नभएकाले सर्घषमा उत्रन बाध्य बनाएको जनाएको छ ।



