गोरखा – नेपाल आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला आज गोरखा आउने भएका छन् । उनी भारतीय सहयोगमा बनेका विद्यालयको उदघाटन गर्न गोरखा आउन लागेका हुन् ।
विदेश सचिव हर्षवर्द्धन श्रृङ्गला, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावली र गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले संयुक्त रुपमा भवन उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
गोरखामा २६ हजार ९ सय १२ घर बनाउने प्रधानमन्त्री मोदीको प्रतिवद्धता अनुसार २५ हजार १७ घर बनिसकेको छ भने ३ वटा विद्यालयको पुनःर्निर्माण सम्न्पन भएको छ । श्रींगला तीनै विद्यालयको उदघाटन गर्न आउन लागेका हुन् ।
श्रींगलाले गोरखा नगरपालिका १० को छेवेटारमा रहेको तारा माध्यामिक विद्यालय, गोरखा नगरपालिका ९ को लक्ष्मी बजारको महालक्ष्मी माध्यामिक विद्यालय र गोरखा नगरपालिका ८ को रत्नलक्ष्मी माविको भवन उदघाटन गर्ने छन् ।
उनले लक्ष्मी बजारको महालक्ष्मी माध्यामिक विद्यालयको उदघाटन गर्ने र अन्य २ विद्यालय भने साँकेतिक रुपमा सोही स्थानबाट उदघाटन गर्ने गोरखाको परियोजना कार्यालयले जानकारी दिएको छ । उनी आजै स्वदेश फर्किने छन् ।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त निजी आवास, विद्यालय सडक, स्वास्थ्य चौकी तथा पुरातात्विक सम्पदा पुनर्निर्माणका लागि भारत सरकारले १ खर्ब रुपैयाँ अनुदान प्रदान गरेको थियो । सो रकमले गोरखामा २६ हजार ९ सयढ १२ वटा र नुवाकोटमा २३ हजार ८८ वटा निजी आवास पुनर्निर्माण हुँदैछन् ।


