गोरखा – जिल्लामा चिसो तथा हिमपताबाट हुनसक्ने सम्भावित जोखिमको रोकथाम र न्युनिकरणका लागि तयारी अबस्थामा रहन स्थानीय तह र सरोकारवालाहरुलाई आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखामा आज (बिहीबार) बसेको जिल्ला स्तरीय बिपत् व्यवस्थापन समितिको बैठकले सबै स्थानिय तह र सरोकारवालाहरुलाई तयारी अबस्थामा रहन भनेको हो ।
हिउँदयाममा बढ्दो चिसोसंगै जिल्लाको उत्तरी क्षेत्रमा भारी हिमपात पर्न सक्ने र चिसोबाट आइपर्ने क्षतिको न्युनिकरण गर्नका लागि आपसी समन्वय र सहकार्यमा पूर्वतयारी, रोकथाम र नियन्त्रणका सचेतनामुलक तथा सन्देशमुुलक कार्यक्रम सञ्चालन गर्ने समेत निर्णय गरिएको छ ।
बैठकले हिमपात र चिसोबाट प्रभावित हुनसक्ने क्षेत्रमा रहेका गरिब तथा बिपन्न परिवारको पहिचान गरि राहत तथा उद्धारका लागि दाउरा, इन्धन, कम्बल लगायतका सामाग्रीको भण्डारण गरि सम्भावित जोखिमबाट बच्ने उपाय अबलम्बन गर्न स्थानीय तहमा आबश्यक सामाग्रीको संचय गर्न तथा उपलब्ध सामग्रीहरुको अध्याबधिक गरेर जिल्ला स्तरीय बिपत व्यवस्थापन समितिमा पठाउन आग्रह गरेको छ ।
त्यस्तै जाडो याममा कुहिरो तथा हुस्सु लागि सडक दुर्घटना बढ्न सक्ने भएकाले सोको रोकथाम तथा न्युनिकरणका लागि जोखिम युक्त क्षेत्रमा बिभिन्न सांकेतिक चिन्ह तथा सचेतनामुलक कार्यक्रम सञ्चालनका लागि सडक कार्यालय तथा सम्बन्धित तहहरुले राख्ने व्यवस्था मिलाउने बैठकले निर्णय गरेका छ ।




















