गोरखा – कोरोना संक्रमितहरुको उपचारका लागि निर्माण गरिएको गोरखा क्याम्पसको आइसोलेसन बन्द गर्ने निर्णय भएको छ ।
जिल्ला बिपत व्यवस्थापन समिति तथा कोरोना रोकथाम नियन्त्रण र न्युनिकरणका लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्टको आज (बिहीबार) बसेको बैठकले बन्द गर्ने निर्णय गरेको हो ।
७४ लाख रुपैयाँ खर्चिर गोरखा नगरपालिका ७ मा रहेको गोरखा क्याम्पसमा निर्माण गरिएको उत्त आइसोलेनमा ७६ बेड क्षमताको आइसोलेसन बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिईन ।
त्रिभुवन बिश्वबिद्यालयले आंगिक क्याम्पस सञ्चालन गर्नुपर्ने तथा क्याम्पसमा पूर्वाधार निर्माण समेत गर्ने तयारी भएकाले क्याम्पसले पटक–पटक आइसोलेसन हटाइदिन अनुरोध गरेपछि हटाउने निर्णय गरिएको हो ।
‘जिल्लाको विभिन्न स्थानीय तहहरुले पालिका भित्रै लक्षण नदेखिएका संक्रमितको आफै व्यवस्थापन गर्ने गरे पछि उत्त आइसोलेसन उपयोग बिहिन हुदै आएको थियो । आइसोलेसन सञ्चालन र व्यवस्थापन गरिरहन नपर्ने देखिएकाले पनि त्यहाँ रहेको सामाग्री गोरखा नगरपालिकालाई बुझाउने गरी बन्द गर्ने निर्णय गरिएको कमाण्ड पोष्टले जनाएको छ ।
आइसोलेसन बन्द गर्ने निर्णय लगत्तै सुरक्षाका लागि खटिएका नेपाली सेना र नेपाल प्रहरीको टोलीलाई पनि फिर्ता बोलाइएको छ ।


