गोरखा – गोरखाको माछाखोला क्षेत्रमा सरकारी अनुदानको चामल बिक्री हुन छाडेको छ ।
स्थानिय ब्यापारीले सरकारी अनुदानको चामल भन्दा सस्तो दिए पछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको माछाखोला डिपोबाट चामल बिक्री हुन छाडेको हो । ‘स्थानिय ब्यापारीले सस्तोमा चामल बिक्री गरे पछि हाम्रो डिपोबाट चालम बिक्री हुनै छाडेको छ’ कम्पनीका गोरखा शाखा प्रमुख नविन बस्नेतले बताए । ‘त्यस क्षेत्रका सर्व साधारणलाई लक्षित गरी सरकारी अनुदानमा चामल बिक्री गर्दै आएको भएता पनि पछिल्लो २ बर्ष यता खासै चामल बिक्री नभएको’ उनले बताए ।
धार्चे गाउँपालिका ५ को माछा खोला डिपोसम्म गोरखा सदरमुकाममा रहेको कम्पनीले सरकारी अनुदानको चामल लगेर त्यहाँका स्थानिय र वरपरका बासिन्दालाई उपलब्ध गराउदै आएको छ । खाद्यान्न अभाव भोग्दै आएका उत्तरी गोरखाको धार्चे र चुमनुव्री गाउँपालिकाका बिभिन्न क्षेत्रका नागरिकहरुलाई लक्षित गरि ढुवानी अनुदानको चामल उपलब्ध गराउदै आएको उत्त डिपोबाट पछिल्लो २ बर्षदेखि न्युन मात्रामा चामल बिक्री हुने गरेको कार्यालयको रेकर्डले देखाउछ ।
पछिल्लो समय सोही क्षेत्रको गुम्दासम्म कच्ची सडक पुगेपछि स्थानिय व्यापारीहरुले नै बिक्रीका लागि लगेको चामल डिपोको भन्दा सस्तोमा बिक्री गरे पछि ढुवानी अनुदानको चामल बिक्री हुन छोडेको गोरखा शाखाले जनाएको छ ।
उही गुणस्तरको चामल बजारमा उपभोत्ताले ५० किलोको प्रति बोला १६० रुपैयाँ सम्म सस्तो पाउन थाले पछि डिपोको चामल बिक्री न्यून भएको हो । डिपोले सोना मनसुली चामल अहिले प्रतिबोरा १ हजार ४४० मा बिक्री गर्दै आएको छ ।
ब्यापारीले घर घरमा बिक्री गर्दै हिडेका कारण पनि डिपो सम्म लिन आउनेको संंख्या कम भएको अनुमान गरिएको छ । तर बर्षातका बेला सवारी साधन चल्न छाडे पछि भने डिपोबाट नै ढुवानी अनुदानको चामल बिक्री हुने गरेको कार्यालयले जनाएको छ ।
२ बर्ष अगाडी सोही डिपोबाट २ हजार ५०० क्विन्टल चालम बिक्रि भएको थियो भने गएको बर्ष ८०० क्विन्टल मात्र चामल बिक्रि गर्न सफल भएको यो आर्थिक बर्ष कोटा घटाएर ५०० क्विन्टलमा झारिएको छ । कार्यालयको रेकर्ड अनुसार चालु आर्थिक बर्ष यो अवधी सम्म पनि उत्त डिपोबाट १ क्विन्टल पनि चामल बिक्रि भएको देखिदैन ।
सडक सञ्जालले जोडिनु अगाडी सम्म पनि उत्त डिपोबाट माछा खोला, गुम्दा, उहिया, केरौजा, काशिगाउँ सम्मका सर्व साधारणले चामल लैजाने गरेका थिए ।
माछाखोला डिपोबाट कम्पनीले सोना मनसुली प्रति किलो ४८ र जापानिज चामल प्रतिकिलो ४८ मा बिक्रि गर्दै आएको कम्पनीले जानकारी दिएको छ ।


