गोरखा – गोरखाको गरापानी आज बिहान सुमो दुर्घटना भएको छ । दुर्घटना लगत्तै चालक फरार भएको छ ।
गोरखा नगरपालिका ४ को गरापानी क्षेत्रमा बिहान १ः१५ बजेको समयमा ग. १ ज ७४३० नम्बरको टाटा सुमो दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले बताए । ‘दुर्घटनामा सुमो पुर्ण रुपमा क्षती भएको छ । तर सुमो भित्र के कती जना सवार थिए अझै पत्ता लाग्न सकेको छैन । चालक समेत फरार छन्’ प्रमुख ढकालले भने ।
दुर्घटनामा परेको सुमो सडक देखी १०० मिटर तल खेतमा खसेको छ । सवारी धनी जीबन खड्का अनुसार आज चितवन जान भनेर हिडेको सवारी कसरी दुर्घटनामा परयो आफै आश्र्चयमा परेको बताए । खड्काले चालक सम्र्पकमा आएको र सुमो भित्र अन्य २ जना यात्रु रहेको जानकारी दिए । चालक सहित यात्रु सकुशल रहेको चालकलाई उदृत गर्दै सवारी धनी खड्काले जानकारी दिए ।
यता ट्राफिक प्रहरी कार्यालय गोरखाले भने दुर्घटना हुनै नसक्ने स्थानमा सवारी दुर्घटना भएकोले थप अनुसन्धान जारी राखिएको जानकारी गराएको छ । सुमो दुर्घटना भएको स्थानमा दुवै तर्फ ढुङाको थुप्रो भएको र त्यहाँबाट खस्न सक्ने संभावना कम रहेको कार्यालयले जनाएको छ ।
यता पटक पटकको प्रयास पछि सम्र्पकमा आएका चालक सन्दीप परियारले उकालोमा आउदा ब्रेक फेल भएकोले दुर्घटना भएको र यात्रु सहित आफु हाम फालेर ज्यान जोगाएको बताए । चालक परियारका अनुसार दुवै जना यात्रु समेत सकुशल रहेका छन् ।
कार्यालयले चालकको खोजी भई रहेको र दुर्घटनामा परेका अन्य २ जना यात्रुको समेत खोजी रहेको जनाएको छ ।
तस्बिर सौजन्य जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखा


