गोरखा – जिल्लाको बारपाक सुलिकोट गाउँपालिकाले चालु आर्थिक बर्षको पहिलो चौमासिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाको १६ वटै बिषयगत कार्यालयले चालु आर्थिक बर्षको पहिलो चौमासिक भित्र सम्पन्न गरेको योजना र कार्यक्रमहरु सन्तोष जनक रहेको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्ट बताए । ‘पहिलो चौमासिक भित्र गाउँपालिकाले लिएको लक्ष्य सबै सम्पन्न गर्न नसके पनि बिपत्को अबस्थामा गरिएको सबै कार्यक्रम सन्तोषजनक नै रहेको’ अध्यक्ष भट्टले भने ।
समिक्षा कार्यक्रममा कोभिडका कारण तालिम गोष्ठी लगायत गर्नुपर्ने काम बाहेक भौतिक तथा सामाजिक दुरी कायम गरि गर्नसकिने बिकास निर्माण तथा अन्य योजनालाई गाउँपालिकाले निरन्तरता दिदै आएको समिक्षा कार्यक्रममा जानकारी गराईएको थियोे ।
पालिकाको कृषि, पशुसेवा, रोजगार सेवाकेन्द्र, योजना तथा अनुमगन, प्राबिधिक, युवा तथा खेलकुद, स्वास्थ्य, महिला बालबालिका लगायतका शाखाहरुबाट लक्ष्य भन्दा बढी उपलब्धी हासिल गरेको समिक्षा कार्यक्रममा जानकारी गराईएको थियो ।
पालिकाले चालु आर्थिक बर्षको पहिलो चौमासिक अबधीमा कोरोना संक्रमणका कारण बेरोजगार बनेका युवा, बिपन्न, असाहाय नागरिकलाई रोजगारी उपलब्ध गराउने तथा बाँझो जमिन खेती गर्ने कार्यक्रम गाउँपालिकाको सफल कार्यक्रमको रुपमा देखिएको छ ।
चालु आर्थिक बर्षमा २०० रोपनी बाँझो जमिन खेती गर्ने लक्ष्य लिएकोमा ६०० रोपनी बाँझो जमिनमा खेती भएको गाउँपालिकाले जनाएको छ । त्यस्तै गरी पहिलो चौमासिक अबधीमा करिब ९०० भन्दा बढी व्यक्तिलाई गाउँपालिकाले राहातको लागि रोजगारी दिन सफल भएको छ ।


