गाेरखा – गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ्गमा रहेको भीमकुल बचत तथा ऋण सहकारी संस्थाले दोस्रो पटक लगातार नेपालस्तरको सहकारी गुणस्तर मापदण्ड (प्रोबेसन ब्राण्ड) पाएको छ ।
गत बर्ष पनि उक्त सहकारी संस्थाले पहिलो पटक एनएस ब्राण्ड पाएको थियो । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफस्कुन)वाट सञ्चािलत प्रोबेसन कार्यक्रममा पुनः भीमकुल सहकारीले यस वर्ष प्रोबेसन ब्रान्ड प्राप्त गर्न सफल भएको भिमकुल बचत तथा ऋण सहकारी संस्थाका संस्थाका प्रबन्धक नवराज श्रेष्ठले जानकारी दिए ।
नेफस्कुनको भर्खरै सम्पन्न २९ औं बार्षिक साधारण सभाको अवसरमा (नेफ्सकुन) का अध्यक्ष सन्तोष पौडेलले सहकारीका पदाधिकारीलाई ब्राण्ड प्रदान गरेका हुन् । सहकारी विभागले सहकारीहरुको दिगो विकास, व्यवसायीकरण र गुणस्तर सुनिश्चितताका लागि २०७१ सालदेखि नेपालस्तरको यो ब्राण्ड प्रदान गर्दै आएको छ ।
त्यस्तै भीमकुल साकोस गण्डकी प्रदेशको उत्कृष्ट सहकारी बनेको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले गत कार्तिक २६ गते पोखरामा सम्पन्न भएको ३३औं नेफस्कुन स्थापना दिवस कार्यक्रममा सहकारीलाई गण्डकी प्रदेशको उत्कष्ट सहकारीको घोषणा गर्दै अध्यक्ष कृष्ण श्रेष्ठलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
वि. स. २०५२ सालमा स्थापना भएको उक्त सहकारीमा करिब ३ हजार १ सय सेयर सदस्य रहेका छन् ।




















