गोरखा – गोरखाको उत्तरी क्षेत्रमा हिमपात सुरु भएको छ । अचानक मौषममा परिवर्तन आए संगै उत्तरी गोरखामा आज बिहान देखी हिमपात सुरु भएको हो ।
आज (सोमबार) बिहान ११ बजे देखी उत्तरी गोरखाको अधिकास स्थानमा हिमपात भएको चुमनुब्री गाँउपालिका १ का वडा सदस्य निमा दोर्जे लामाले टेलिफोन मार्फत जानकारी दिए । ‘आज बिहान ११ बजे देखी हिउँ पर्न थालेको छ । अहिले सम्म परिरहेको छ । अहिले सम्म २ ईन्च हिउँ जमेको’ वडा सदस्य लामाले बताए ।
अहिले परेको हिउ माघ महिना सम्मै पर्ने र गाउँ घर तथा डाडाँकाडाँ सेताम्मे देखिने गर्दछ । माथिल्लो भेगमा हिउँ नपरे जंगलमा डढेलो लाग्न सक्ने खतरा बढी हुने गर्दछ । ‘यो सिजनमा हिउँ परेर जमेन भने त जंगलमा आगोलागी हुने खतरा बढी हुने’ लामाले बताए ।
सामान्य त यो हिउँ पर्ने सिजन नै हो । तर आज अचानक मौषममा आएको परिवर्तनका उच्च हिमाली क्षेत्रमा हिउँ परेको हो । हिउँ पर्न थाले पछि उत्तरी गोरखामा मानिसहरु खुशी भएका छन् । हिउँ कै कारण त्यस क्षेत्रमा बालिनालीका साथै गाईबस्तुलाई घाँस प्राप्त हुने भएकोले स्थानिय खुशी भएका हुन् ।
हिउँले वेफाइदा भन्दा बढी फाइदा गर्ने चुम्चेतका गोपाल गुरुङले बताए । ‘हिउ परेन भने त गाई बस्तुले खाने घाँस पनि उम्दैन र हामीले खाने अन्न पनि उम्रदैन’ गुरुङले भने ।
माघ सम्म पर्ने हिउँ उत्तरी गोरखाको अधिकास स्थानमा ६ फिट सम्म जम्ने गर्दछ । अहिले उत्तरी गोरखाको तापक्रम माईनस ३ डिग्री सेल्सीएर रहेको छ । राती माईनस ६ सम्म पुग्ने अनुमान गरिएको छ ।
हिमाली क्षेत्रमा अहिले सुख्खा मौषम हो । यो समयमा घाँसका बिऊ झर्ने र सोही बिऊ हिउँको चिसोले उम्रने हुदाँ पनि उत्तरी क्षेत्रका मानिस हिउँ पर्दा खुशी हुने गर्दछन् । उत्तरी क्षेत्रमा हुने चौरी तथा याकले हिउँमा पनि घाँस खोजेर खान सक्ने भएता पनि भारी हिमपात भएको खण्डमा गोठमा नै राखेर घाँस दिनुपर्ने हुदाँ त्यहाँका स्थानियले अबको ३ महिनालाई पुग्ने घाँस जम्मा गरेर राखिसकेका हुन्छन् ।
हिमाली क्षेत्रमा मानिसहरुले भूई तलामा गाई बस्तु पाल्छन् भने पहिलो तलामा मानिसहरु सुत्ने र माथिल्लो तलमा घाँस भण्डारण गर्दछन् । माथिल्लो तलमा घाँस भण्डार गरेकै कारण हिउको चिसो तल नआउने र गाईबस्तुको तातोमाथि जाने भएका कारण मानिसहरु चिसोबाट सुरक्षित रहन्छन् ।
सामान्यत चिसो मौषममा उत्तरी गोरखाका अधिकास मानिस जिल्ला सदरमुकाम वा राजधानी गएर चिसो छल्ने गर्दछन् ।
तस्बिर निमा दाेर्जे लामा, साम्दाे







