गोरखा – गोरखाको बारपाकमा केन्द्रिय बिद्युत प्रशारण लाईन मार्फत बिद्युत बितरण हुने भएको छ ।
स्थानियलाई बिरतण गर्न मिल्ने गरी सबै काम सम्पन्न भएकोले केही साता भित्रै नेपाल बिद्युत प्राधिकरणको केन्द्रिय प्रशारण लाईनको बिद्युत बितरण गरिने गोरखा बितरण शाखाका प्रमुख माधब न्यौपानेले बताए । ‘बारपाकबासीलाई बिद्युत बितरण गर्न आवश्यक सबै काम सम्पन्न भएकोले तिहार लगत्तै बितरणको काम हुने’ प्रमुख न्यौपानेले बताए ।
बारपाकको मुख्य बजारलाई लक्षित गरी बितरणलाईको काम हालै सम्पन्न भएको छ । कार्यालयको रेकर्ड अनुसार मुख्य बारपाक बजारमा ५०० देखी ६०० घर धुरी रहेको र त्यसका लागि आवश्यक बिद्युत बितरणका सबै काम सम्पन्न गरी सकिएको छ । ‘बारपाकै पोखरी र कुलगाउँ तिर भने बितरण लाईन बिस्तार गर्ने काम भई रहेको भएता पनि मुख्य बारपाकमा सबै काम सम्पन्न भएकोले मंसिर महिना भित्रै सबै घरमा बिद्युत बितरणको काम सम्पन्न गरी सक्ने’ नेपाल बिद्युत प्राधिकरण गोरखा बितरण शाखाका प्रमुख माधव न्यौपानेले बताए ।
तयारी अवस्थामा रहेको बारपाकमा मिटर बितरणका लागि पहिलो चरणमा गोरखा शाखाबाट कर्मचारी खटाएर निवेदन र आवश्यक दस्तुर लिए पछि मिटर बितरण गरिने भएको छ । बारपाक देखी गोरखा बजार सम्म मानिसहरु आउदा समस्या हुने भन्दै कार्यालयले कर्मचारी नै खटाएर निवेदन र दस्तुर लिने ब्यवस्था मिलाएको छ ।
०७६ फागुनमा नै काम सम्पन्न भएको बारपाकमा तात्कालीन निर्देशक कुलमान घिसीङ आफै उपस्थित भएर बारपाकमा बत्तीबाल्ने योजना भएता पनि उनको कार्यकाल र पछिल्लो समय नोबल कोरोना भाइरस (कोभिड–१९) का कारण बितरणमा ढिलाई भएको कार्यालयले जानकारी दिएको छ । तात्कालीन निर्देशक घिसिङले बारपाक बासीलाई निशुल्क मिटर उपलब्ध गराउन भनेको र सम्भव भए सम्म सबै बारपाकबासीलाई निशुल्क मिटर उपलब्ध गराउने तर्फ आफुले पहल गरी रहेको कार्यालय प्रमुख न्यौपानेले जानकारी दिए ।
कार्यालयको योजना मुताविक एकै पटक सबैले मिटर लगेको खण्डमा साता दिन भित्रै सबै काम सम्पन्न गर्ने गरी काम हुने छ । बिद्युत बितरणकै लागि राङरुङ देखी बारपाक सम्म ६ स्थानमा ट्रान्सफर्मर राखिएको छ ।
कार्यालयले उपलब्ध गराएको रेकर्ड अनुसार राङरुङ, मान्द्रे, दुम्सीखामा १/१ वटा र बारपाक बजारमा भने बसपार्क, भूकम्प स्मारक पार्क र कोटकालीमा गरी ३ स्थानमा १/१ वटा ट्रान्सफर्मर राखिएको छ । ६ वटा ट्रान्सफर्मरले ४०० केभिए क्षमता धान्ने छ ।
बितरण शाखाका अनुसार अहिले जिल्ला भरी ४४ हजार हाराहारीमा बिद्युत उपभोग गर्ने ग्राहक भएको र यो बर्ष ३ हजार ग्राहकलाई सेवा दिएर ४७ हजार पुरयाउने लक्ष्य राखिएको छ ।


