गोरखा – गोरखा बजारका ४ हजार भन्दा बढी ग्राहकलाई नेपाल टेलिकमले फागुन सम्ममा ‘फाईबर टु होम’ जोडने भएको छ ।
फाईबर नेटवर्कको एफटिटीच कार्यक्रम मार्फत गोरखा बजारका ४ हजार भन्दा बढी ग्राहकलाई ईन्टरनेट सहित फोन र टिभीको च्यानल बितरण गर्न लागेको टेलिकम गोरखा शाखाका प्रमुख राजेन्द्रबहादुर श्रेष्ठले बताए । ‘हामीले एफटिटीच अर्थात फाईबर टु होम प्रोग्राम मार्फत पहिलो चरणमा सदरमुकामका ४ हजार बढी ग्राहकलाई सेवा दिन लागिएको’ प्रमुख श्रेष्ठले बताए । ‘गोरखा जिल्लामा फाईबर नेटवर्क छैन । त्यसैले तिहार लगत्तै फाईबर हालेर ग्राहकहरुलाई सोही फाईबर मार्फत इन्टरनेट र फोन सेवा दिने र टेलिभिजन भने केही समय लाग्ने’ श्रेष्ठले भने ।
सदरमुकामको ५ स्थानमा रहेको क्याबिनेटमा टेलिकम कार्यालय देखी फाईबर लिंक गराउनका लागि तिहार लगत्तै काम सुरु गर्ने कार्यालयले जनाएको छ । ‘सदरमुकाममा चार महिना भित्र काम सक्ने र ग्राहकलाई फाईबरमा जोड्न नक्सा आई सकेको’ भन्दै कार्यालयल प्रमुख श्रेष्ठले ‘गोरखामा रहेका कर्मचारीहरुले मात्र काम गर्न नसकेको खण्डमा बाहिरबाट पनि कर्मचारी झिकाएर काम चाढो गराउने पक्षमा आफु रहेको’ बताए ।
कार्यालयले दिएको रेकर्ड अनुसार गोरखा हस्पिटल चोक, तिनधारे र धारापानी चोकमा प्रत्येक क्याबिनेटमा ५१२ जनाका दरले १ हजार ५३६ जना र हरमटारी चोक, आयुवेद चोक, गोरखा बजार (शत्तिचोक)मा रहेको क्याबिनेटबाट १ हजार २४ जनाका दरले गरी ३ हजार ७२ गरी कुल ४ हजार ६०८ जनाले यो सेवा लिन सक्ने छ ।
ग्राहकलाई यो सेवा दिनकालागि नेपाल टेलिकम मार्फत जिल्लाको लागि सबै सामाग्री आउने छ । यो सेवा बाट ईन्टरनेट चलाउन सजिलो हुने छ । थोरैमा ८ एमबिपीएस सेवा र धेरैमा ५० एमबिपीएस सम्म सेवा दिन सकिने कार्यालयले जनाएको छ । यो सेवा लिने ग्राहकले अहिले पनि नेपाल टेलिकमको फोन सेवा लिएको हुनुपर्ने छ ।
नियमीत फोन सेवा लिएका ग्राहकलाई कुनै पनि शुल्क नलिईकनै राउटर र फाईबर तार पाउने छन् भने नयाँ ग्राहकहरुले जडान शुल्क, फाईबर तार र राउटरको शुल्क भुक्तानी गर्नुपर्ने छ ।
गोरखा बजारमा यो काम सकिए लगत्तै पालुङटारमा काम सुरु हुने कार्यालय प्रमुख राजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । त्यस पछि भने जिल्लाको लक्ष्मिबजार, छेवेटार र आरुघाट बजारमा पनि यो सेवाका लागि काम सुरु गरिने भएको छ ।




















