गोरखा – कार्यालय प्रमुखको लापरर्वाहीका कारण जिल्ला मालपोत कार्यालय गोरखाका थप ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।
यस अघि नै १ जना महिला कर्मचारीमा कोरोना संक्रमण देखिए संगै उत्त कर्मचारीलाई काममा लगाएका कारण थप अन्य कर्मचारीमा संक्रमण थपिन गएको गोरखा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
‘मालपोतका महिला कर्मचारीले स्वाद थाहा नपाएको भन्दै स्वाब दिन आए पछि आफुले उत्त कर्मचारीलाई बिदामा राख्न भनेको तर उनले कर्मचारीको अभाव देखाउदै काममा लगाएका कारण थप कर्मचारीहरुमा कोरोना संक्रमण फैलिएको’ स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले बताए । ‘कार्यालय प्रमुखकै अर्कमण्यताका कारण अरु कर्मचारीमा समेत संक्रमण फैलन पुगेको’ प्रमुख रेग्मीले बताए ।
कोरोना संक्रमण देखिएको कर्मचारीलाई किन बिदा नदिएको भन्ने हाम्रो जिज्ञासामा भने जिल्ला मालपोत कार्यालयका प्रमुख देबेन्द्रबहादुर थापाले गोलमटो उत्तर दिए । उनले कर्मचारी नभएको र पहिलो संक्रमित महिलाले आफुलाई त्यस्तो केही नभएको भन्दै अफिसमा आएर काम गरेको थापाले बताए ।
‘बिदा नदिने भन्ने हुदैन । महिला कर्मचारीले आफुमा कोरोना नभएको भन्दै काम गर्न आएको । कर्मचारी अभावले गर्दा आएको कर्मचारीलाई आफुले बिदामा बस भन्न नसकेको’ प्रमुख थापाले बताए ।
मालपोत कार्यालयका २ जना नासु, ३ कार्यालय सहयोगी र १ कम्प्यूटरमा काम गर्ने बाहिर जिल्लाबाट आएका कर्मचारीमा संक्रमण देखिएको कार्यालय प्रमुख थापाले जानकारी दिए ।


