गोरखा – नोबल कोरोना भाइरस (कोभिड–१९)का कारण यस बर्ष गोरखामा देउसी भैलो खेल्न प्रशासनले प्रतिबन्ध लगाएको छ ।
देउसी भैलो जस्ता कार्यक्रमले भिडभाड तथा जमघट हुदा संक्रमण बढ्न सक्ने भन्दै प्रशासनले प्रतिबन्ध लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय गोरखाले आज एक सूचना जारी गर्दै ‘कोरोना संक्रमण नियन्त्रण, रोकथाम, तथा जोखिम न्युनीकरणमा आबश्यक सहयोग तथा सहजीकरण गरिदिन’ समेत जिल्लामा क्रियाशिल राजनीतिक दल, स्थानीय तह, सामजिक संघसंस्थ लगायतलाई अनुरोध गरिएको छ ।
त्यस्तै जिल्ला भित्र कुनै प्रकारको मेला आयोजना नगर्न, भीडभाड नगर्न, सामाजिक तथा भौतिक दुरी कायम गर्न, अनिबार्य मास्क लगायर मात्र बाहिर निस्कन समेत प्रशासनले अपिल गरेको छ ।
सूचनामा तिहारको बेला भुइचम्पा, पटका तथा अतिशबाजी जस्ता बिस्पोटक पर्दाथको आयात गर्ने, भण्डारण गर्ने, बिक्रि बितरण गर्ने र पड्काउने लगायतका कार्यबाट जनस्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्ने तथा आगजनीबाट जनधनको क्षति हुनसक्ने भन्दै त्यस्ता पर्दाथ आयात, भण्डारण, बिक्रिबितरण तथा प्रयोग नगर्न नगराउन समेत भनिएको छ ।
सूचनाको अवज्ञा गरे गराएर त्यस्ता कार्य गरेको खण्डमा स्थानीय प्रसासन ऐन २०२८ बमोजिम कारवाही गरिने समेत भनिएको छ ।





















