हास्य प्रधान नेपाली फिल्म ‘‘१२ मासे’ युट्यूबमार्फत दर्शकमाझ आएको छ । दशैंको अवसर पारेर अघिल्लो शुक्रवार अपलोड गरिएको यो चलचित्रले एक साताको अवधिमा ट्रेन्डिङको टप टेनमा स्थान बनाउन सफल भएको छ ।
५ लाख ९१ हजार भन्दा बढी पटक हेरिएको उक्त चलचित्र ट्रेन्डिङको सातौं स्थानमा छ । हाँस्य कलाकारहरुको बाहुल्यता रहेको उक्त फिल्म हाइलाइट्स नेपालको अफिसियल युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।
जुवा तासमा हल्लिने युवा तथा बृद्धहरुको कथालाई उठाइएको फिल्मलाई युट्यूबमा हेर्ने दर्शकले मन पराएका छन् । नक्कली प्रचण्डको नामले परिचित हाँस्य कलाकार प्रदिप पाठकको लेखन तथा निर्माण रहेको यो फिल्मलाई लय संग्रौलाले निर्देशन गरेका हुन् ।
फिल्ममा जय किशन बस्नेत, पुजना प्रधान, मरिचमान श्रेष्ठ, पुरन थापा, प्रदीप पाठक, सोनिका बास्तोला, सबनम दाहाल, राधा श्रेष्ठ आदि कलाकारले अभिनय गरेका छन् ।
फिल्ममा अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको छ । बासु न्यौपानेले छायांकन गरेको यो फिल्मलाई अनन्त घिमिरेले सम्पादन गरेका हुन् ।


