काठमाडौं– कोभिड–१९ को बढ्दो संक्रमणका बीच पनि पुस्तक पढ्ने पाठकको रुचि घटेको छैन ।
घरमै बसेर आफ्नो रुचिका पुस्तक पढ्ने पाठकलाई मध्यनजर गर्दै बुक–हिल पब्लिकेसनले दशैंको छेकोमा आज तीनवटा अनूदित पुस्तक सार्वजनिक गरेको छ ।
युगान्त : महाभारतको महामृत्यु
भारतीय प्रथम महिला मानवशास्त्री इरावती कर्वेद्वारा लिखित तथा साहित्य अकादमी पुरस्कार–१९६७ प्राप्त कृति ‘युगान्त स् द एन्ड अफ एन इपोक’को नेपाली अनुवाद ‘युगान्त स् महाभारतको महामृत्यु’ सार्वजनिक पुस्तकमध्ये पहिलो हो, जसलाई युवा लेखक तथा इतिहासद्रष्टा सुजित मैनालीले अनुवाद गरेका हुन् ।
युगान्त महाभारतको आधुनिक उत्खनन हो ।
महाभारतबारेका बौद्धिक बहसका निम्ति यो पुस्तक पठनीय छ ।
पुस्तकबारे अनुवादक सुजित मैनाली भन्छन्- ‘आलोचनात्मक चेतसहित महाभारतका प्रमुख पात्रहरुको प्रवृत्तिबारे यस पुस्तकमा निर्ममतापूर्वक चिरफार गरिएको छ । यो गहन अनुसन्धानमा आधारित गैर–आख्यानतर्फको उत्कृष्ट कृति हो । पात्रको फरक दृष्टिकोणको चरित्र–विधान यस पुस्तकमा छ ।’
मैनाली थप्छन् -‘नेपाली भाषामा लेखिएका र पढिएका महाभारतसम्बन्धी पुस्तकहरुभन्दा पृथक र नेपाली पाठकले पढ्नैपर्ने भएकाले मैले यसलाई नेपाली भाषामा अनुवाद गरेको हुँ ।’
पुस्तकमा प्रयुक्त आख्यानिक भाषा–शैलीले पाठकमा नयाँ स्वाद थपेको छ ।
मुसा मानुष
सार्वजनिक अर्को पुस्तक हो– साहित्यमा नोबेल पुरस्कार विजेता अमेरिकी लेखक जोन स्टेनबेकको विश्व प्रसिद्ध उपन्यास ‘अफ माइस एन्ड मेन’को नेपाली भाषामा अनुवाद ‘मुसा मानुष’ ।
यस पुस्तकलाई चर्चित लेखक गनेस पौडेलले अनुवाद गरेका हुन् ।
सन् १९३० को महामन्दीपछि अमेरिकामा भुइमान्छेले बााच्नका निम्ति गरेको संघर्ष र दुई मित्र जर्ज र लेनीको हृदयविदारक कथा यो उपन्यासमा छ ।
उपन्यासबारे अनुवादक गनेस पौडेल भन्छन् – ‘यो मेरो किशोरवयको पठनको उत्कृष्ट उपन्यास थियो, जसलाई मैले आजीवन भुल्न सकिना र नेपाली पाठकका निम्ति अनुवाद गरें । उपन्यासमा महामन्दीपछिको कथालाई स्टेनबेकले समाजको सिङ्गो चित्रको रुपमा मात्रै प्रस्तुत गरेका छैनन्, तत्कालीन जनजिब्रोको भाषाको जीवन्त प्रयोगले पनि यो पुस्तक रोचक छ । साहित्य पढ्ने हरेक पाठकले छुटाउन नहुने कृति हो यो ।’
फरक शैलीको कथावाचन भएको यस पुस्तकको संवादलाई अनुवादक पौडेलले पश्चिमाञ्चल क्षेत्रको स्थानीय लवजमा प्रस्तुत गरेका छन् ।
विमुक्ति
सार्वजनिक पुस्तकमध्येको अर्को हो– मल्ल के.सुन्दरद्वारा नेपाल भाषामा लिखित उपन्यास ‘व लापु स् थ्व पलास्’को नेपाली अनुवाद ‘विमुक्ति’ ।
यसलाई राजेन्द्र महर्जन र महेशराज महर्जनले अनुवाद गरेका हुन् ।
उपन्यासबारे समालोचक प्रा.कमलप्रकाश मल्ल भन्छन् – ‘आफ्नो मुक्ति–निर्वाणका लागि भौतारिएका दुई महिला– बुद्ध उपदेशका उपासिका र बन्दुक बोकेर हिंडेकी छापामार युवतीको कथा हो यो उपन्यास । यसमा यी दुई महिलाबीचको वैयक्तिक अन्तरद्वन्द्वलाई खोतलिएको छ । उनीहरुले अनुशरण गरिरहेका मार्गमा आधारभूत भिन्नता भए पनि मुक्ति वा वर्गीय समाजको अन्त्यको वाचा गर्दैन ।’
उपन्यासबारे लेखक मल्ल के.सुन्दर भन्छन् – ‘जनयुद्धको कथामार्फत मैले नेपाली समाजको वर्गीय विवेदको चित्रलाई यस उपन्यासमा प्रस्तुत गर्ने कोशिश गरेको छु ।’
बौद्ध भिक्षुणी र छापामार युवतीको माध्यमबाट यस उपन्यासले दश वर्षे जनयुद्धको एउटा पाटोको मर्मान्त कथा प्रस्तुत गरेको छ ।
केही दिनअघि खगेन्द्र संग्रौलाद्वारा अनूदित गैर–आख्यान ‘सत्ता र सत्य’ सार्वजनिक गरेको बुक–हिलले आज सार्वजनिक भएका यी तीन पुस्तकमार्फत नेपाली अनुवाद साहित्यमा टेवा पुग्ने र विश्वसनीय अनुवादलाई पाठकले रुचिपूर्ण तरिकाले ग्रहण गर्ने विश्वास लिएको बुक–हिल पब्लिकेसनका अध्यक्ष भूपेन्द्र खड्काद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।


