हाल मोरङमा रहेकी पूर्वमिस नेपाल शृंखला खतिवडाले त्यहाँको भ्रमणलाई एक काज दुई पन्थ तुल्याइरहेकी छन्। मानव सेवा आश्रम र ज्येष्ठ नागरिक आश्रमको भवन डिजाइनका क्रममा शृंखला पूर्वी मोरङको ग्रामथान पुगेकी हुन्। यसै क्रममा उनलाई त्यहाँको थारू गाउँको सुन्दरताले तान्यो।
त्यसपछि उनले थारूहरूको रहनसहनबारे जानकारी लिइन्। ग्रामथानका चिनजानको घरमा पुगेर थारू पोसाक लगाउने मनसुवा पनि पूरा गरिन्। शृंखलाले मोरङिया थारू महिलाले लगाउने ड्रेस अचरा खर्कीका साथै चाँदीबाट बनेका गहना हौसली, चनर हार र मनटीका लगाएर स्थानीय महिलासँग भलाकुसारी पनि गरेकी छन्।
साथै शृंखलाले थारू परिकारको पनि मजाले स्वाद लिन पाइरहेको बताएकी छन्। उनले भनिन्, ‘थारू परिकार ओलको तरकारी, बगिया, घोंघीदेखि गँगटोको तरकारीको स्वाद पनि थाहा पाइयो।’ थारू परम्परागत पोसाकमै शृंखलाले स्थानीय आमाको बच्चालाई काखमा लिएर फुल्याइन्। ग्रामथानका थारू आमाहरूसँग कुराकानीमा झ्याम्मिँदा उनी त्यहीँकी बुहारीजस्तो देखिइन्।
यस्तै उनले थारू महिलाले ट्याटु खोप्ने चलनबारे जानकारी लिइन्। भन्छिन्, ‘थारू महिलामा थरीथरीका ट्याटु खोप्ने चलन रहेछ। थरीथरीका फूलबुट्टायुक्त ट्याटु हजुरआमाहरूको हातदेखि गोडासम्म देखिन्छ। उहाँहरूले परम्परादेखि नै आफ्नो कला र संस्कृति जोगाएर राख्नुभएको रहेछ तर युवाहरूले यसलाई निरन्तरता दिन सकिरहेका छैनन्।’
मिस नेपाल २०१८ शृंखलाले थारू बालबालिकालाई उनीहरूकै थारू भाषामा गीत गाउन र नाच्न लगाउँदै रमाइलो गरिन्। उनले ट्विटरमा गाउँ तथा धान खेतको एक भिडियो दृश्य पोस्ट् गर्दै लेखेकी छन्, ‘ग्रामथान, मोरङमा केही सातादेखि यस्तै दृश्यसँग काम गर्दै छु।’
स्थानीय अध्येता रामसागर चौधरी भन्छन्, ‘शृंखलाजस्ता स्वदेशीदेखि विदेशी सेलिब्रिटीसम्म थारू गाउँ घुम्न आउँछन्। स्थानीयवासीसँग दुईचार दिन रमाउँछन्। स्थानीय परिकार चाख्छन्। तर यहाँका आदिवासीको वास्तविक समस्या बुझेर दीर्घकालीन समाधानका लागि पहल गर्दैनन्।’


