गोरखा – गोरखा धावाकी दुवै मृगौला पिडितलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
भीमसेन थापा गाउँपालिका ४ धावाकी ४० बर्षिया शर्मिला परियारको उपचारमा रकम अभाव भए पछि ‘शर्मिला परियार बचाउ अभियान’ मार्फत उठेको रकम हस्तान्रण गरिएको हो ।
सामाजिक अभियान्ता बालकृण्ण परियारले सामाजिक सञ्जाल मार्फत चलाएको अभियान अन्रतर्गत जम्मा भएको २ लाख ३७ हजार १८४ रुपैयाँ राजधानीको शिक्षण अस्पताल पुगेर हस्तान्तरण गरिएको हो । ‘आर्थिक अभाव भए पछि उपचारमा समस्या आएको कुरा सामाजिक सञ्जालमा थाहा पाए पछि ‘शर्मिला परियार बचाउ अभियान’ सञ्चालन गरेर जम्मा भएको रकम पिडितको श्रीमानलाई हस्तान्तरण गरिएको’ अभियान्ता परियारले बताए । ‘एक दिन मोबाइल चलाउदै थिए । यु ट्युबमा ट्याक्सी बेचेर श्रीमतीको उपचार गराएको खबर सुने । साथीभाईलाइ भने अनि अभियान सञ्चालन गरे’ उनले भने ।
अभियान्ता परियारको अभियानलाई विदेशमा रहेका साथीहरुले पनि सहयोग गरेको छ । जापान, साउदी अरेबिया र मलेशियामा रहेका उनका साथीहरुले ६० देखी ७० हजार सहयोग गरे भने बाँकी नेपालमा नै रहेका उनका साथीहरुले सहयोग गरेको हो ।
संकलित सबै रकम बुधकार आफै राजधानी पुगेर शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत पिडितका श्रीमानलाई हस्तान्तरण गरिएको थियो ।
विगत ३ महिना देखी उपचाररत शर्मिलाका श्रीमानले राजधानीमा चलाउदै आएको ट्याक्सी समेत बिक्री गरेर श्रीमतीको उपचार गराई रहेका छन् । शर्मिलाको यही बिचमा २ पटक मुटुमा पानी जमे पछि अप्रेशन समेत गरिएको उनका श्रीमान कृण्णबहादुर परियारले बताए । जसोतसो गरेर एउटा ट्याक्सी किनेर चलाउदै परिवार पाल्दै आएको थिए । अहिले श्रीमतीको उपचारमा समस्या परे पछि बेचेर उपचार गरिरहेको छु’ कृण्णले भने ।
अहिले आफुसंग श्रीमतीको उपचारको लागि केही नभएकोले सहयोगीहरुले दिने पैसाले उपचार र औषधी खुवाउदै आएको पिडितका श्रीमान कृण्णले बताए ।
अभियान्ता परियारले भाद्र २ गतेबाट चलाएको अभियान अब फरक तरिकाले सञ्चालनमा ल्याउने बताए ।


