गोरखा – केही साता भित्र सञ्चालनमा ल्याउन लागेको मनकामना केबुलकारको टिकट अब मोबाईलमा नै पाईने भएको छ ।
मनकामना दर्शन प्रालिले कोभिड–१९ का कारण सुरक्षा सर्कता र यात्रुको सहजताको लागि भन्दै ई सेवा र फोन पे मार्फत टिकट खरिद बिक्रीको ब्यवस्था मिलाएको हो । ‘नगद रहित कारोबार र सुरक्षा सर्तकताका लागि पनि यो काम जरुरी भएकोले यो सेवा सञ्चालनमा ल्याएको’ सञ्चालक राजेशबावु श्रेष्ठले बताए । ‘यो सेवाबाट यात्रुले टिकट खरिदका लागि धेरै समय खर्चनु नपर्ने र कम्पनीले नगद रहित सेवा दुवै पाउने’ उनले भने ।
मनकामना केबुल कारको सञ्चालन संस्था मनकामना दर्शन प्रालिले यात्रुको सेवा र बढ्दो कोरोना संक्रमणका कारण सुरक्षा सर्तकतालाई ध्यान दिदै यो सेवा सञ्चालनमा ल्याएको हो । यो सेवा संगै अब यात्रुले टिकटका लाईनमा धेरै समय खर्चनु पर्ने छ्रैन भने मोबाईलमा आउने टिकट सिधै प्रस्थान कक्षमा पुगेर बारकोडमा देखाउना साथ यात्रा गर्न पाईने छ ।
ई सेवा मार्फत टिकट बुकिङ गर्दा यात्रुले फोनमै टिकट प्राप्त गर्न सक्नेछन् भने फोन पे मार्फत टिकट काउन्टरबाट टिकट लिन सक्नेछन् । अहिले दुर्गम क्षेत्रसम्म पनि यो सेवाको पहुँच पुगिसकेको अवस्थामा यात्रुले सेवामा सहजता सँगै स्टेशनमा भिडभाड कम हुने कम्पनीले विश्वास लिएको छ ।
यो सेवा लागु भए संगै केबुलकार यात्रा गर्न चाहने जो कोहीले पनि घरबाट हिडनु पूर्व वा हिड्दा हिड्दै टिकट खरिद गरेर समयको बचत र नगद रहित कारोबार गर्न सकिने भएको हो ।


