काठमाण्डौं – मानव स्वास्थ्यलाई असर गर्ने स्यानिटाइजर उत्पादन गरेको भनेर केही कम्पनीलाई कारवाही गरेको महिना दिन बित्न नपाउदै औषधि व्यवस्था विभागले थप ९ सेनिटाइजर उत्पादक कम्पनीका उत्पादनमाथि प्रतिबन्ध लगाएको छ ।
विभागले कारबाही गरेका कम्पनीमा भारतीय कम्पनी शिभिका कस्मेक्युटिकल्स लिमिटेड, उत्तराखण्डको हर्बलट्री ह्याण्ड रब, आर केमिकल एण्ड प्याकेजिङ इण्डस्ट्रीज, पर्साको कुम ह्याण्ड सेनिटाइजर र क्लिन ह्याण्ड सेनिटाइजर, कुमकुम हर्बल इण्डस्ट्रिज बनेपाको कुमकुम इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर रहेका छन् ।
यस्तै गरी ओम आरोग्य हेल्थकेयर ललितपुरको इन्स्ट्यान्ट ह्यान्ड सेनिटाइजर साधना सप्लायर्स काठमाडौंको साधना इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजरमाथि पनि प्रतिबन्ध लगाइएको छ ।
विभागले कालिका सोप एण्ड केमिकल इण्डस्ट्रिजको पहेलो रंगको ड्रोन ह्याण्ड सेनिटाइजर र रंगविनाका २ सेनिटाइजरमाथि पनि प्रतिबन्ध लगाएको छ । विभागले ९ वटै कम्पनीका उत्पादन तथा बिक्री वितरण अविलम्ब रोक्का पनि निर्देशन दिएको छ ।
यसअघि पनि विभागले ९ वटा उद्योगमाथि कारवाही गरिसकेको थियो । मिथानोल छालामा प्रयोग गर्न सरकारले यसअघि नै प्रतिबन्ध लगाइसकिएको छ । यो मानव स्वास्थ्यका लागि हानिकारक छ । यसलाई लामो समयसम्म प्रयोग गरे क्यान्सरसमेत हुन सक्ने सम्भावना हुने चिकित्सक बताउँछन् ।


