काठमाण्डौं – गएको आइतबार त्रिशुली नदीमा खसेर आगलागी भएको टयांकर दुर्घटना संकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।
घटनामा संलग्न भएको आरोपमा चालक र सह चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।
असोज ४ गते त्रिशुली नदीमा खसेर आगो लागेको ट्यांकर दुर्घटना शंकास्पद रहेको भन्दै छानबिन गर्न नेपाल आयल निगमले नेपाल प्रहरीलाई पत्राचार गरे लगत्तै गजुरी इलाकी प्रहरी कार्यालयले चालक सुदिप बोहोरा र सह चालक मनिष नगरकोटीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको गजुरी प्रहरीले जनाएको छ ।
ट्यांकर चालकको भूमिका शंकास्पद भएको भन्दै निगमले पछिल्लो समयमा मिसावटमा कडाई गर्न थाले पछि टयांकर दुर्घटना गराइएको आंशका निगमले गरेको छ । डिपोमा ट्यांकर नआईपुग्दै उक्त ट्यांकरमा मिसावट बारेको सूचना आएको समेत डिपोले जानकारी दिएको छ ।
असोज ४ गते त्रिशुली नदीमा खसेको टयांकरमा २० हजार लिटर पेट्रोल रहेको र दुर्घटनामा २१ लाख रुपैयाँ नोक्सानी भएको थियो ।




















