काठमाण्डौं – नेकपाको सचिवालय बैठकअघि मन्त्रिपरिषद बैठक बस्दै छ ।
बैठक बालुवटारमा हुने एक मन्त्रीले बताए । बैठकमा कोभिड–१९ लगायत अन्य नियमित विषयमा छलफल हुनेछ ।
सोमबार बस्नुपर्ने नियमित बैठक बसेको थिएन । त्यसैले आजको बैठक नियमित भएको एक मन्त्रीले जानकारी दिए ।
यसै बिच हिजो स्थगित गरिएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ ।
कोटेश्वरको पेरिस डाँडामा हिजो बस्ने भनिएको बैठक आज १२ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार हुने भएको छ ।
सचिवालय बैठक अघि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ । सचिवालय बैठकवाट मन्त्रिमण्डल पुनर्गठन सम्वन्धी मापदण्डलाई अन्तिम रुप दिने नेकपाको तयारी छ ।
प्रधानमन्त्री बाहेक सबै मन्त्रीलाई राजीनामा गर्न लगाउने र सबै नयाँ राख्ने, सबैलाई राजीनामा गराउने अनि राम्रो काम गरेका केहीलाई पुनर्गठनमा दोहोरयाएर बाँकी नयाँ ल्याउने विकल्पमा नेकपाले छलफल गरिरहेको छ ।
२ वर्ष मन्त्री भइसकेकाहरूलाई हटाएर नयाँलाई राख्ने र कार्यसम्पादनका आधारमा मन्त्रीहरू हेरफेर गर्ने ४ वटा प्रस्तावमा सचिवालयमा छलफल सुरु भएको छ । बैठकमा संवैधानिक आयोगका पदाधिकारी चयनका विषयमा पनि छलफल हुने बताइएको छ ।
बैठकमा सांगठनिक एकीकरणका काम पूरा गर्ने, पार्टी संगठन विभागको निर्णयमा छलफल र अनुमोदनको प्रस्ताव, स्थायी र केन्द्रीय कमिटीको रिक्त रहेका सदस्यहरूको पदपूर्ति, कारबाहीमा परेका नेताहरूको कारबाही फुकुवा, केद्रीय कमिटीका सदस्यहरूलाई नियमित रूपमा आर्थिक सहयोग गर्ने लगायतका विषयमा पनि छलफल हुनेछ ।


