गोरखा – धार्चे गाउँपालिकाको माछीखोलामा हार्ट बजार निर्माण थालिएको छ ।
स्थानियले उत्पादन गरेको बस्तु बजारीकरण गर्ने उद्वेश्यका साथ पालिकाले माछीखोला क्षेत्रमा हार्ट बजार निर्माणको थालनी गरेको हो ।
धार्चे गाउँपालिका ५ को माछीखोलामा गाउँपालिका र युएनडिपीको साझेदारीमा हार्ट बजारको थालनी गरिएको गाउँपालिका प्रमुख सन्तोष गुरुङले बताए । ‘धार्चे गाउँपालिका भित्रको ७ वटै वडाका दैनिक उपभोग्य बस्तुका साथै यहाँ पाईने जडिबुटीको समेत प्रर्बधन गर्ने उद्वेश्यका साथ हार्ट बजार सञ्चालनमा ल्याउन लागेको’ प्रमुख गुरुङले बताए । ‘हामीले निर्वाह मुखी खेती प्रणालीलाई ब्यवसायमुखी बनाई कृषकको जिवन स्तर उकास्ने हिसाबले पनि हार्ट बजार सञ्चालनमा ल्याउन आवश्यक देखिएकोले भवन निर्माणको काम थालनी गरिएको’ उनले बताए ।
हार्ट बजारमा पालिका भित्र पर्ने उच्च हिमाली क्षेत्रका आलु, टुसा, च्याउ, सिमी, फापर तथा जडिबुटी समेत बिक्रीको लागि राखिने छ । गाउँ गाउँमा उत्पादन भएको बस्तु वडाले संकलन गर्ने र हार्ट बजारमा ल्याएर बिक्री गर्ने पालिकाको उद्वेश्य रहेको छ ।
गाउँपालिकाको २० लाख र युएनडिपीको १२ लाख गरी कुल ३२ लाखमा भवन निर्माणको थालनी भएको हो । दशै अगाडी नै निर्माण सम्पन्न गरिसक्ने उद्वेश्य राखिएको भवनमा पालिका भित्र रहेका ७ वटा वडालाई १÷१ कोठा र २ वटा कोठा कोशेली घरको लागि बन्ने पालिकाले जनाएको छ ।
खोलालाई चेक ड्याम तयार गरी बगरमा भवन निर्माण गर्न लागेको हो । उत्पादन र बिक्रीको आधारमा मात्र हार्ट बजार सञ्चालन गरिने भएको छ । ‘पहिलो चरणमा हामी हप्ताको २ दिन बजार सञ्चालन गर्ने छौ । तर बिक्री कम भयो वा उत्पादीत सामाग्री कम भयो भने त्यस पछि महिनामा कती दिन सञ्चालन गर्ने भन्ने बिषयमा निर्णय लिने छौ’ पालिका प्रमुख सन्तोष गुरुङले बताए ।
हार्ट बजारमा बिक्री गर्न ल्याएको सामान बिक्री नभएको खण्डमा भने किसानको बाँकी सामाग्री पालिकाले खरिद गरेर ब्यापारीलाई बिक्री गर्ने पालिकाले जनाएको छ ।
तस्बिर सौजन्य सन्तोष गुरुङ




















