गोरखा – गोरखामा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनको तयारी सुरु भएको छ ।
निर्वाचनको तयारीका लागि कार्यालय समेत स्थापना भएको छ । असोज २४ गते हुने निर्वाचनका लागि सरकारी वकिलको कार्यालयमा मुख्य निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको हो ।
कार्यालयले आजै निर्वाचन सम्बन्धी कार्य तालिका सार्वजनिक गरेको छ । कार्य तालिका अनुसार ९ गते मतदाता नामावाली प्रकाशन, ११ गते मतदाता नामावली उपर दावी बिरोध, १३ गते मतदाताको अन्तिम नामावली प्रकाशन, र १४ गते उमेद्वारी दर्ताको कार्य तालिका सार्वजानिक गरेको छ ।
त्यस्तै १५ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारीको नाममा दावी बिरोध, १६ गते उमेदवारको अन्तिम नामावली प्रकाशन र २४ गते मतदानको कार्य तालिका निर्धारण गरेको छ ।
यो पटकको निर्वाचनमा २०७५ साल भन्दा अघि स्थायी भएका कर्मचारी मात्र चुनावमा भाग लिन पाउनेछन् । त्यस्तै निर्वाचनमा श्रेणी बिहिनदेखि अधिकृत सम्मले निर्वाचनमा भाग लिन पाउनेछन् तर कार्यालय प्रमुखको रुपमा रहेका अधिकृतले भने निर्वाचनमा भाग लिन नपाउने प्रावधान रहेको छ ।
निर्वाचनको घोषणासंगै जिल्ला भित्र क्रियाशिल ३ वटा संगठनले उम्मेदद्वारी दिने तयारी गरेको छ । कर्मचारी युनियन संघ, निजामती कर्मचारी संगठन र राष्ट्रिय कर्मचारी संगठनले निर्वाचनमा आ–आफ्नो उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।




















