गोरखा –
जिल्लाको सबै सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको विवरण राख्ने काम सुरु गरिएको छ ।
डेस्क नै स्थापना गरि कोभिड–१९ को असहज अबस्थामा कार्यालयहरुमा सेवा लिन आउने सेवाग्राहीहरुको पहिचान र सेवाप्रवाहमा सहज व्यवस्थापनको लागि बिवरण राख्ने कामको सुरु गरिएको हो ।
कार्यालयमा आउने सेवाग्राहिहरुले आफ्नो नाम, ठेगाना, कुन कामका लागि आएको, सेवाग्राहीको फोन नम्बर सहितको विवरण डेस्कमा रहेको रजिष्ट्रर रहने गरी व्यवस्था मिलाईएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए ।
उनले यसबाट सेवाग्राहि पहिचानमा सहज हुने, कुन सेवा लिन आउने सेवाग्राहिको संख्या अधिक रहेछ भन्ने जानकारी हुने र सोहि आधारमा जनशक्ति व्यवस्थापन गर्न सहज हुनुका साथै कार्यालयमा स्वास्थ्य सुरक्षा सतर्कता अवलम्बन गर्न समेत सहज हुने बताए ।
यस्तै गरी आजै देखी गोरखा नगरपालिकाले पनि सोही अनुसारका डेस्क स्थापना गरी ३ जना कर्मचारीहरुलाई परिचालन गरेको छ । यसो गर्दा कुनै पनि सेवाग्राही सिधै कर्मचारीको सम्र्पकमा आउन नसक्ने र कोरोना जोखिम कम हुने नगरपालिका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले बताए ।
सेवाग्राहीलाई सके कर्मचारीको कार्य कक्ष सम्म पुग्न नदिने र पुग्नै पर्ने अवस्था भएमा सो को सम्पुर्ण विवरण राखेर मात्र कर्मचारीहरु संग भेट गर्न दिने ब्यवस्था मिलाईएको छ । यती गर्दा पनि सेवाग्राहीले कार्यालय भित्र प्रवेश गर्नु अघि नै स्यानिटाईजर लगाएर मात्र भित्र पस्न पाउने ब्यवस्था मिलाईएको गोरखा नगरपालिकाले जनाएको छ ।
सेवाग्राहीहरुलाई सेवा लिन आउदा आफ्नो पूर्ण विवरण डेस्कमा टिपाउन समेत सबै सरकारी कार्यालयले अनुरोध गरेको छ । यसो गर्दा कुनै पनि कोरोना संक्रमित सेवाग्राही कर्मचारीको सम्पर्कमा आएको खण्डमा पहिचानको लागि सहज हुने भएकाले सेवाग्राहीको बिबरण संकलन संलकन गर्न थालिएको हो ।




















