गोरखा – शहिदलखन गाउँपालिका ७ को कोटगाउँका एक अपाङ्ख परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको छ ।
वडाध्यक्षले सामाजिक सञ्जालबाट जुटाएको रकमले घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।
वडाध्यक्ष शरण श्रेष्ठको सक्रियतामा सामाजिक सञ्जाल मार्फत उठेको रकम मध्ये १६ लाख ८३ हजार ७४८ रुपैयाँ खर्चेर बनेको नयाँ घर एक कार्यक्रम बिच पालिका अध्यक्ष रमेशबावु थापा मगरले घरधनी धनबहादुर श्रेष्ठलाई मंगलबार हस्तान्तरण गरेका हुन् । घर हस्तान्तरण सँगै गाउँपालिकाले अपाङ्गता भएकाहरुलाई सहायता सामग्री खरिद गर्न १ लाख रुपैयाँ समेत सहयोग उपलब्ध गराएको छ ।
६ सन्तान मध्ये छोरा राजिब श्रेष्ठ, छोरीहरु शिला श्रेष्ठ र लिला श्रेष्ठ पूर्ण रुपमा अशक्त छन् ।
घर निर्माणका लागि सामाजिक सञ्जालबाट १४ लाख ८१ हजार रुपैयाँ सहयोग प्राप्त भएको वडाध्यक्ष श्रेष्ठले कार्यक्रममा जानकारी दिए । अपुग सबै रकम आफुले सहयोग गर्ने समेत कार्यक्रममा वडाध्यक्ष श्रेष्ठले बचन दिए ।




















