गोरखा – अनुदानको मल बढी मुल्य लिएर बेचेको आरोप लागेको गोरखा नगरपालिका ५ को वडा कार्यालयले किसान संग लिएको बढी रकम फिर्ता गर्ने निर्णय गरेको छ ।
वडा कार्यालयले किसानलाई मल दिदा नेपाल सरकारले तोकेको मुल्य भन्दा बढी रकम लिएको समाचार सार्वजनिक भएपछि वडा कार्यालय बढी रकम किसान फिर्ता गर्ने निर्णय गरेको हो ।
वडा कार्य समितिको बैठकले मलको खरिद गर्दाको मूल्य र ढुवानी खर्च बाहेक अन्य रकम किसानलाई फिर्ता गर्ने निर्णय भएको सचिव इन्दिरा अम्गाईले जानकारी दिइन। कार्यालयले किसानहरुलाई कार्यालयमै बोलाएर बढी परेको रकम फिर्ता गरिदिन लागेको समेत उनले जानकारी दिईन ।
कार्यालयका अनुसार हिजो (मंगलबार) २५ जना किसान वडा कार्यालयको सम्र्पकमा आएर बढी रकम फिर्ता लिएर गएको कार्यालयले जनाएको छ ।
वडा कार्यालयले सदरमुकाममा रहेको सहकारीबाट मल खरिद गर्दा बिल नलिएको र वडा नम्बर ७ का वडाध्यक्ष बिण्णु श्रेष्ठलाई सम्र्पक गर्दा उनले प्रति किलो २३ रुपैयाँका दरले बिक्री गरेको जानकारी दिए पछि आफुहरुले पनि २४ रुपैयाँ प्रति किलो किसानबाट लिएको वडा सचिव अंगाईले बताईन ।
वडा कार्यालयबाट मल लिएर आएका किसानहरुले ब्यापक गुनासा गर्न थाले पछि जिल्लाको सञ्चार माध्याममा समाचारहरु आएको थियो । वडाले किसानलाई प्रति बोरा १२०० रुपैयाका दरले मल उपलब्ध गराएको थियो ।
नेपाल सरकारबाट अनुदान प्राप्त उत्त मल प्रति बोरा ९५० रुपैयाँ किसानले पाउनु पर्ने हुन्छ । तर यो वेतिथी भने नगरपालिकाको सबै वडामा अझै बाँकी रहेकोले प्रभावकारी अनुगमन हुन आवश्यक देखिन्छ ।




















