गोरखा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रित हुने गरी आफ्नो सचिवालय अन्तर्गत स्वयंसेवी गठन गरेका छन् ।
श्रेष्ठले संक्रमणको बिषम परिस्थितीमा श्रमिक, गरिब र असहाय समुदायलाई सहयोग आवश्यक रहेको भन्दै आफ्नो सचिवालय मातहत रहने गरी आज कोभिड–१९ स्वयं सेवा गठन गरेको हो ।
समितिले कोरोना संक्रमितको उपचार सम्बन्धी प्रक्रिया र उद्धारमा सहजीकरण, समन्वय तथा सहयोग, मनोसामाजिक परामर्श, आपतकालीन स्वास्थ्य परामर्श, आप्रवासी श्रमिक उद्धार तथा सुरक्षित घर फिर्तीमा समन्वय तथा सहयोग र कोभिड–१९ को सचेतना फैलाउने गरी काम गर्ने सचिवालयले जनाएको छ ।
त्यस्तै रोकथाम, नियन्त्रण र उपचारमा सम्बन्धी सरकारको नीति, योजना र निर्देशनलाई मार्ग निर्देशन मानी त्यसलाई कार्यन्वयन गर्न समितिले सहयोग गर्ने प्रवक्ता श्रेष्ठको सचिवालयद्धारा आइतबार जारी बिज्ञप्तीमा समेत उल्लेख गरिएको छ ।
यसबाहेक संघीय सरकारलगायत तीनै तहका सरकार, सीसीएमसी, डीसीएमसी, स्वास्थ्य मन्त्रालयको काममा सहजीकरण गर्ने, सीभीसीका सदस्यहरुको सम्पर्कमा आएका व्यक्तिहरुको कोभिड संक्रमणको सम्भावनालाई हेरेर कन्ट्याक ट्रेसिङ र पीसीआरमा सहयोग गर्ने जनाइएको छ । त्यस्तै कोरोना संक्रमण पुष्टि भएका व्यक्तिलाई थप उपचार तथा सहयोग आबश्यक परे सहजीकरण गर्ने र विदेशमा अलपत्र नेपाललाई सुरक्षित घर फर्काउन पनि समितिले सहयोग गर्ने जनाइएको छ ।






















