गोरखा – गोरखा नगरपालिकाको वडा नम्बर ५ को कार्यालयले अनुदानमा आएको मल सहुलियतको नाममा किसान संग प्रति बोरा १२०० रुपैयाँको दरले बिक्री गरेको भेटिएको छ ।
मलका हाहाकार भएको भन्दै किसानलाई सहुलियत दिने नाममा वडाले बजार मुल्य भन्दा २५० रुपैयाँ महंगो मूल्य लिएर प्रति बोरा १२०० मा बेचेको रहस्य खुलेको हो ।
काफलघारीका किसान रामबहादुर थापाले पनि वडा कार्यालयबाट १ बोराको १२०० रुपैयाँ नै तिरेर मन खरिद गरे । उनलाई लागेको थियो कि वडाले दिने मल बजार भाउ भन्दा सस्तो होला भनेर । तर जब वडामा पुगे वडा सचिव र सदस्यहरुले लान ईच्छा लागे लाने होइन भने जाने भने पछि दोधारमा परे । ‘त्यही मल बजारमा भएको सहकारी ९५० मा पाइने झन वडा कार्यलयले १२०० लिने’ थापाले उल्टै प्रश्न गरे ।
बालीनालीलाई मल चाहिएको छ । विवाद गरेर मल नपाईएला भन्ने डर । त्यस माथि पनि मल लिन जान वडाकै सिफारीस चाहिन्छ रे ? अनि हामी जस्ता किसानले कहिले सुविधा पाउने त ? अर्का किसानले भुवन थापाले प्रश्न गरे । उनी पनि वडा कार्यालयमा मल आएको थाहा पाएर बेसीको खेतको काम छाडेर कार्यालय पुगेका थिए ।
तर वडा कार्यालयले बिक्री गरेको मलको बिलभरपाई भने किसानलाई उपलब्ध गराएको छैन । महंगो मुल्यमा मल बिक्री गरेको बिषयमा वडाध्यक्ष रामबहादुर थापामगरले अनविज्ञता जनाए । ‘वडा सदस्य सिता मगराती र वडा सचिव इन्दिरा अंम्गाईलाई जिम्मेवारी दिईएको छ । सहकारीबाट कतिमा ल्यायो र किसानलाई कतिमा बेच्यो जानकारी नभएको’ वडाध्यक्ष थापामगरले भने । ‘के भएको हो बुझेर मात्र आफुले बोल्ने’ थापामगरले भने ।
तर वडाध्यक्षले टेलिफोन बार्तामा वडासचिवले सहकारीबाट मल खरिद गर्दा प्रति बोरा १२०० परेको जानकारी गराएको बताए । यदी बजार मुल्य भन्दा किसान संग बढी मुल्य लिएको हो भने किसानलाई बढी मुल्य फिर्ता गर्न लगाइने उनले जानकारी दिए ।
किसानलाई बिल भरपाई साटो एउटा फाइलमा राखिएको कागजातमा नाम लेखेर सही गर्न लगाएको मल लिएर गएका किसानहरुले बताए ।
बढी मुल्य लिएको आरोप लागेको जनमुखी उपभोक्ता बहुउद्वेश्य सहकारी संस्थाले अहिले सम्म सवै वडालाई प्रति बोरा ९५० रुपैयामा नै मल उपलब्ध गराएको जनाएको छ । सहकारीका अध्यक्ष कपिल कट्टेलले बोराको ९५० रुपैपैया भन्दा बढी लिन नपाउने बताए ।
केही समय यता गोरखा नगरपालिकाको वडा नम्बर १०, ११, १२, १३ र १४ लाई छेवेटारमा रहेको सहकारी मल उपलब्ध गराउदै आएको छ भने वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८ र ९ लाई जनमुखीले उपलब्ध गराउदै आएको छ । अध्यक्ष कट्टेलले सहकारीबाट वडा सम्म लगेको र लोड अनलोडको मुल्य जोडेर बेच्दा पनि त्यती मुल्य नपर्ने बताए ।


